धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित शिवगंगा नदीमा पुल निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुल नबन्दा स्थानीयवासीलाई नदी वारपार गर्न सास्ती छ । बिरामीलाई उपचारका लागि लैजानसमेत नदी पार गर्नुपर्ने स्थानीयको समस्या वर्षौंदेखि उस्तै छ ।
केही समयअघि धनगढी–१७ की रामप्यारी चौधरीले बिरामी छोरालाई उपचारका लागि धनगढी ल्याउन पिठ्युँमा बोकेर शिवगंगा नदी पार गरिन् । सहज सडक पहुँच नहुँदा उनले यस्तो सास्ती भोग्नुपरेको हो । नदीमा पानीको बहाव बढेका बेला वारपार गर्न झनै जोखिमपूर्ण हुने स्थानीय बताउँछन् ।
रामप्यारीजस्तै यहाँका धेरै स्थानीयको दैनिकी नदीसँग जोडिएको छ । धनगढी–१५ का सागर चौधरी कामका लागि नियमित रूपमा धनगढी र आसपासका क्षेत्रमा आउजाउ गर्छन् । उनको घर नदीपारिको रामपुरमा छ । छोटो बाटो प्रयोग गर्न उनी मोटरसाइकलसमेत डल्लवमा राखेर नदी पार गर्छन् । ‘यो बाटो छोटो र सिधा छ । पुल नहुँदा मोटरसाइकल डल्लवमा राखेर नदी पार गर्नुपर्छ । अर्को बाटोबाट जाँदा समय र खर्च दुवै बढ्छ,’ उनले भने ।
शिवगंगा नदीमा पुल नहुँदा धनगढी–१६ र १७ का बासिन्दा मात्रै होइन, रामपुर, चौमाला, अम्बागया, ढाँगा, घसिता र बिउँसाहालगायत बस्तीका बासिन्दासमेत प्रभावित छन् । बजार, रोजगारी, स्वास्थ्य उपचार र धार्मिक स्थल बेहडाबाबा धाम पुग्न यही बाटो महत्वपूर्ण मानिन्छ । धनगढी–१६ का वडाध्यक्ष रामलाल चौधरीका अनुसार शिवगंगा नदी तरेर जोखरताल हुँदै धनगढी पुग्दा करिब १० किलोमिटर दूरी पर्छ । तर, पुल नहुँदा स्थानीयले अत्तरिया–चौमाला हुँदै करिब ४२ किलोमिटर घुमेर वा बेली हुँदै हुलाकी राजमार्गको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।
धनगढीबाट बेहडाबाबा धाम पुग्ने छोटो बाटो यही भए पनि नदी पार गर्नुपर्ने बाध्यताले धार्मिक पर्यटकसमेत प्रभावित भएका छन् । पुल निर्माण भए स्थानीयको आवतजावत सहज हुनुका साथै धाम पुग्ने भक्तजनलाई पनि राहत मिल्ने वडाध्यक्ष चौधरी बताउँछन् ।
२०७४ मा सम्झौता, भौतिक प्रगति ३० प्रतिशत मात्रै
स्थानीयले वर्षौंदेखि पुल निर्माणको आश्वासन पाए पनि निर्माणको काम भने निकै सुस्त छ । सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार शिवगंगा पुल निर्माणका लागि २०७४ असार २७ गते पप्पु–एडभेन्चर जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
१६ करोड ६२ लाख ७९ हजार रुपैयाँ लागत अनुमान गरिएको पुल १४ करोड २६ लाख ८८ हजार रुपैयाँमा निर्माण गर्ने गरी ठेक्का दिइएको थियो । सम्झौताअनुसार २०७७ साउन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, तोकिएको समयसीमामा काम पूरा भएन ।
एकपटक म्याद थप गरी २०८२ भदौ ३१ गतेसम्म पुर्याइए पनि त्यस अवधिमा समेत पुल निर्माण सम्पन्न हुन सकेन । सडक डिभिजन कार्यालयका अनुसार हालसम्म पुलको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै छ । बाहिरी संरचना निर्माणले गति लिन सकेको छैन भने ह्युमपाइप र जमिनमुनिको संरचनासम्बन्धी काम भएको छ । सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिप्रसाद जोशीले निर्माणका क्रममा पाइलमा प्राविधिक समस्या देखिएपछि काम रोकिएको दाबी गरे । निर्माण कम्पनीले पुनः डिजाइन गरी स्वीकृति लिनुपर्ने भए पनि प्रक्रिया पूरा नगर्दा काम अघि बढ्न नसकेको उनले बताए ।
तीन करोडभन्दा बढी भुक्तानी, अझै १२ करोड आवश्यक
पुल निर्माणका लागि हालसम्म निर्माण कम्पनीलाई तीन करोड १७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । आर्थिक वर्ष २०८१/८२ मा ८० लाख, २०८२/८३ मा ७० लाख र चालु आर्थिक वर्ष २०८३/८४ मा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माण सम्पन्न गर्न अझै करिब १२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ । कार्यालयले अबको डेढ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यसअघि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइए पनि निर्माण कम्पनीले काम पूरा गर्ने प्रतिबद्धता जनाएपछि अर्को अवसर दिइएको कार्यालयले जनाएको छ । तोकिएको अवधिमा पनि काम सम्पन्न नभए ठेक्का तोडिने सूचना अधिकारी जोशीले बताए ।
उपमहानगरपालिकाको पनि ताकेता
धनगढी उपमहानगरपालिकाले समेत पुल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई ताकेता गर्दै आएको छ । नगर प्रमुख गोपाल हमालका अनुसार निर्माण कार्य अघि बढाउन पत्राचार गरिएको छ । निर्माण कम्पनीले काम गर्न नसक्ने भए ठेक्का तोडेर अर्को प्रक्रिया अघि बढाउनसमेत आग्रह गरिएको उनले बताए ।
नौ वर्षअघि सुरु भएको पुल निर्माण अझै अलपत्र पर्दा स्थानीयले सामान्य आवतजावतदेखि बिरामीलाई उपचारका लागि लैजानसम्म सास्ती भोगिरहेका छन् । छोटो दूरीमा रहेको धनगढी बजार पुग्न लामो बाटो घुम्नुपर्ने वा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता अन्त्य गर्न पुल निर्माण छिटो सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ ।


