धनगढी । दसैँ अवधिभर सुदूरपश्चिम प्रदेशमा डेढ सयभन्दा बढी सडक दुर्घटना भएका छन् । असोज २५ देखि कात्तिक ७ सम्म १५२ वटा दुर्घटना भएका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार दसैँ अवधिभरि भएको दुर्घटनामा परेर छ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन् । कैलालीमा चार र कञ्चनपुरमा दुई जनाले दसैँका बेला सडक दुर्घटनामा ज्यान गुमाएको सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिनुभयो । कैलालीमा ८८ दुर्घटनामा १४६ जना घाइते भएका जनाइएको छ ।
यसै गरी कञ्चनपुरमा ३५ दुर्घटनामा ५० जना, डडेलधुरामा १० दुर्घटनामा १५ जना, डोटीमा आठ दुर्घटनामा आठ जना, बैतडीमा भएको एक दुर्घटनामा एक जना घाइते भएका छन् । यस्तै अछाममा पाँच दुर्घटनामा आठ जना, बझाङमा एक दुर्घटनामा आठ जना, बाजुरामा दुई दुर्घटनामा चार र दार्चुलामा दुई दुर्घटनामा पाँच जना घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । चाडपर्वका बेला सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन अन्य सवारीसाधनमा ठोक्किएर दुर्घटना भएको सूचना अधिकारी भट्टको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मान्छेको मृत्यु पनि मोटरसाइकलपछाडिबाट बयलगाडा, अटो, बाइकलगायतका सवारीसाधनमा ठोक्किएर भएको हो । प्रहरी निगरानी र चेकजाँचका कारण ठुला सवारीसाधन भने दुर्घटना भएनन् ।”
चाडपर्वमा ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई कारबाही मात्रै गरेको थिएन, त्यसमा भएका बढी यात्रुलाई झारेर अन्य सवारीसाधनमा गन्तव्यतर्फ पठाउने कार्य गरेको थियो । यसै गरी पहाडी क्षेत्रमा टाइम कार्ड लागु गरिएको छ ।


