धनगढी । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र चक्रवाती आँधीमा परिणत हुन सक्ने सम्भावनासँगै आगामी सातादेखि नेपालको मौसम प्रभावित हुन सक्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन आउन सक्ने सम्भावना छ। सम्भावित मौसमी प्रणालीका कारण वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भए पनि यसको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाले जनाएको छ।
भारतको पूर्वी तटतर्फ अघि बढ्ने सम्भावना
मौसमसम्बन्धी नमुना, भू–उपग्रहबाट प्राप्त तस्बिर तथा तथ्याङ्कको विश्लेषणअनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास न्यूनचापीय क्षेत्र विकसित भएको छ। उक्त प्रणाली क्रमशः शक्तिशाली बन्दै कात्तिक ९ गते सोमबारसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने अनुमान गरिएको छ।
यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना छ। त्यसको अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्हरूको आकलन छ।
कुन क्षेत्रमा पर्न सक्छ असर
सम्भावित मौसमी परिवर्तनका कारण कोशी, बागमती, गण्डकीलगायतका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहन सक्छ। अन्य प्रदेशमा पर्ने प्रभाव भने प्रणालीको गति, दिशा र तीव्रतामा निर्भर रहनेछ। यद्यपि, कुन जिल्लामा कति वर्षा हुन्छ वा कुन क्षेत्रमा हिमपात हुन्छ भन्ने विषयमा विस्तृत तथा निश्चित पूर्वानुमान सार्वजनिक भइसकेको छैन।
किसान र पर्यटकलाई सतर्क रहन आग्रह
सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ। किसानले बाली भित्र्याउने काममा मौसमको अवस्था विचार गर्न तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक र पदयात्रीले अद्यावधिक मौसम पूर्वानुमानका आधारमा यात्रा योजना बनाउन आवश्यक छ।
मौसमको पछिल्लो अवस्था र आधिकारिक सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट धधध।मजm।नयख।लउ नियमित रूपमा हेर्न महाशाखाले आग्रह गरेको छ


