धनगढी। सुदूरपश्चिम प्रदेशका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि खेलकुद पूर्वाधारको अवस्था भने दयनीय छ। प्रदेशकै प्रमुख र ऐतिहासिक खेलकुद केन्द्रका रूपमा रहेको धनगढी रंगशाला वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ। पर्याप्त बजेट विनियोजन र सरकारी प्राथमिकताको अभावमा रंगशालाको गुरुयोजनाअनुसारका संरचना निर्माण हुन नसक्दा खेलाडीले आवश्यक सुविधा पाउन सकेका छैनन्।
धनगढी रंगशालाको स्तरोन्नतिका लागि वर्षौंदेखि निर्माणका काम भइरहे पनि अझै पूर्णता पाउन सकेको छैन। गुरुयोजनाअनुसार निर्माण गर्नुपर्ने प्यारापिट, बहुउद्देश्यीय हल र अन्य आवश्यक पूर्वाधार अधुरै छन्। भएका संरचनासमेत व्यवस्थित र सुविधासम्पन्न नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ। प्रदेशमा खेलाडी उत्पादन र खेलकुदको सम्भावना प्रशस्त भए पनि त्यसअनुसारका पूर्वाधार निर्माणमा राज्यले पर्याप्त लगानी गर्न नसकेको खेल क्षेत्रका अगुवाहरूको गुनासो छ।
धनगढी रंगशालाको गुरुयोजनाअनुसार भिआइपी र सामान्य गरी १६ वटा प्यारापिट ब्लक निर्माण गर्नुपर्ने हो। तर, हालसम्म सातवटा मात्रै निर्माण भएका छन्। निर्माण भएका प्यारापिटमध्ये पनि पाँचवटामा प्लास्टर तथा रङरोगनको काम बाँकी छ। भिआइपीतर्फ तीनवटा प्यारापिट निर्माण गर्ने योजना रहे पनि एउटा मात्रै बनेको छ। त्यस्तै, सामान्यतर्फ १३ वटा प्यारापिट ब्लक बनाउनुपर्नेमा पाँचवटा मात्रै निर्माण भएका छन्। गुरुयोजनाअनुसारका संरचना निर्माण नहुँदा रंगशालाले अझै पूर्ण स्वरूप लिन सकेको छैन। खेलाडी, प्रशिक्षक र खेलकुदका सरोकारवालाले पटकपटक पूर्वाधार विकासको आवश्यकता औँल्याउँदै आए पनि अपेक्षाअनुसार काम हुन सकेको छैन।
सुदूरपश्चिम कराते महासंघका अध्यक्ष त्रेलोक्यनाथ पाण्डेय राज्यले खेलकुद क्षेत्रमा पर्याप्त लगानी नगरेको बताउँछन्। उनका अनुसार सुदूरपश्चिम खेलाडी उत्पादन गर्ने महत्त्वपूर्ण क्षेत्र हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा यहाँका खेलाडीको सहभागिता रहँदै आएको छ भने उनीहरूले पदकसमेत जित्दै आएका छन्। तर, खेलाडीको क्षमता विकास र नियमित अभ्यासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यले प्राथमिकता नदिएको उनको गुनासो छ। पाण्डेय सुदूरपश्चिमका खेलाडीले देशका लागि पदक जितिरहँदा पनि प्रदेशमा एउटा सुविधासम्पन्न रंगशाला निर्माण हुन नसक्नु विडम्बना भएको बताउँछन्। धनगढी रंगशालाको अवस्था र प्रस्तावित फाप्ला क्रिकेट रंगशालाको निर्माणको अन्योलले प्रदेशमा खेलकुद पूर्वाधार विकासप्रति राज्यको प्राथमिकतामाथि प्रश्न उठाएको उनको भनाइ छ। खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने तर अभ्यास र प्रतियोगिताका लागि आवश्यक सुविधा नपाउने अवस्था अन्त्य हुनुपर्ने उनी बताउँछन्।
२०६८ सालमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएपछि धनगढी रंगशालामा तीन करोड रुपैयाँको लागतमा दुईवटा प्यारापिट, फुटबल मैदान र एथलेटिक्सका लागि ट्र्याकलगायतका पूर्वाधार निर्माण गरिएका थिए। त्यसबेला प्रतियोगिता सञ्चालनलाई लक्षित गरी बनाइएका संरचनाले सुदूरपश्चिमको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको थियो। तर, गुरुयोजनाअनुसार थप पूर्वाधार निर्माण गर्ने काम लामो समयसम्म अधुरै रह्यो। साढे १५ वर्ष बितिसक्दा पनि रंगशालाले पूर्णता नपाउँदा पुराना संरचनाको अवस्था पनि कमजोर बन्दै गएको छ। एथलेटिक्सका लागि निर्माण गरिएका ट्र्याक ठाउँठाउँमा भत्किएका छन्। फुटबल मैदानको उचित संरक्षण हुन नसक्दा प्रतियोगिता सञ्चालन गर्नुअघि मर्मत गर्नुपर्ने अवस्था छ। नियमित मर्मतसम्भार र आवश्यक सुविधाको अभावले खेलाडीको अभ्यासदेखि प्रतियोगिता आयोजनासम्म प्रभावित भइरहेको छ।
खेलाडीका लागि नियमित अभ्यास गर्न उपयुक्त मैदान, व्यवस्थित प्यारापिट र आवश्यक सहायक पूर्वाधार महत्त्वपूर्ण मानिन्छन्। तर, धनगढी रंगशालामा यी सुविधा पर्याप्त नहुँदा खेलाडीले विभिन्न कठिनाइबीच अभ्यास गर्नुपर्ने अवस्था छ। प्रदेशस्तरका प्रतियोगितादेखि राष्ट्रियस्तरका खेलकुद गतिविधि सञ्चालन गर्न सक्ने क्षमताको विकास हुन नसक्दा सुदूरपश्चिमले खेलकुद क्षेत्रमा अपेक्षित फड्को मार्न सकेको छैन। रंगशालाभित्र रहेको बहुउद्देश्यीय हलको अवस्था पनि उस्तै छ। निर्माणाधीन अर्को बहुउद्देश्यीय हल लामो समयदेखि अलपत्र अवस्थामा छ। हलमा प्लास्टर गर्ने, भित्र प्यारापिट निर्माण गर्ने तथा झ्यालढोका जडान गर्नेलगायतका काम पूरा हुन सकेका छैनन्। बहुउद्देश्यीय हल निर्माण सम्पन्न भएमा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने भए पनि अधुरो संरचनाका कारण त्यसको उपयोग हुन सकेको छैन।
रंगशालाको स्तरोन्नतिका लागि पछिल्ला केही वर्षयता सरकारले बजेट विनियोजन नगरेको खेल क्षेत्रका सरोकारवालाहरूको गुनासो छ। आवश्यक बजेट नहुँदा निर्माणाधीन संरचना पूरा गर्न तथा पुराना पूर्वाधारको मर्मतसम्भार गर्न समस्या भइरहेको छ। वर्षौंदेखि अधुरो रहेको योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने माग खेलकुद क्षेत्रबाट उठ्दै आएको छ। खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले धनगढी रंगशालाको स्तरोन्नतिका लागि यसपटक प्रदेश सरकारसँग आवश्यक बजेट माग गरिएको बताएका छन्। रंगशालाको पूर्वाधार विकासका लागि बजेट आवश्यक रहेको उनको भनाइ छ।
धनगढी रंगशालाको अवस्था र फाप्ला क्रिकेट रंगशाला निर्माणमा देखिएको अन्योलले सुदूरपश्चिमको खेलकुद पूर्वाधार विकासमा सरकारी लगानीको निरन्तरतामाथि प्रश्न उठाएको छ। एकातिर खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै पदक जितिरहेका छन् भने अर्कोतिर उनीहरूलाई अभ्यास र प्रतियोगिताका लागि आवश्यक पूर्वाधारको अभाव छ। खेलाडीको प्रतिभा र सम्भावनालाई परिणाममा बदल्न आधुनिक तथा सुविधासम्पन्न खेलकुद संरचना निर्माण गर्नु अपरिहार्य छ।


