काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् । एक नेताका अनुसार उनले भनेका छन्, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं ।’ यसअघि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राख्दै आएका थिए । तर अब पार्टीकै बैठकमा यसले प्रवेश पाएको छ।
बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ। पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवा सुनिश्चित गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘पार्टी महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणा पत्रमा यो विषय सम्बोधन गर्न कार्यदल बनाएर जाऔं ।’