धनगढी । नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका नगर कार्यसमितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशनहरू एकता र सहमतिका साथ एउटै समयमा गर्नुपर्नेमा जोड दिएको छ।
भदौ २९ गते सोमबार कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको नगर कार्यसमितिको बैठकले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै एकताको अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।
नगर सभापति यज्ञराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा नगर कार्यसमितिका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरूको सहभागिता रहेको थियो। बैठकमा सहभागी अधिकांश वक्ताले कांग्रेसभित्र छुट्टाछुट्टै अधिवेशन गर्ने तयारीप्रति असहमति जनाउँदै पार्टीको एकता कायम गरेर एउटै अधिवेशन गर्नुपर्ने धारणा राखेका थिए।
नगर कार्यसमितिका सचिव दिनेश खत्रीले पार्टीभित्र दुई समूहले छुट्टाछुट्टै अधिवेशनको मिति तय गरेकाले धनगढी नगर कार्यसमिति भने एउटै र एकताबद्ध अधिवेशनको पक्षमा रहेको बताए।
नगर सभापति उपाध्यायले पनि धनगढी नगर कार्यसमिति पार्टीभित्र विभाजन बढाउने गरी हुने छुट्टाछुट्टै अधिवेशनको पक्षमा नरहेको स्पष्ट पारे। दुईवटा अधिवेशनले पार्टीभित्रको दूरी थप बढाउने भन्दै उनले सहमति र एकताका आधारमा एउटै अधिवेशनबाट पार्टीको एकता र हित सुनिश्चित गर्नुपर्ने बताए।
उनका अनुसार धनगढी उपमहानगरपालिकाअन्तर्गतका वडा सभापतिहरूले समेत पार्टीलाई विभाजनबाट जोगाउन एकताको एउटै अधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै संस्थापन र संस्थापनइतर समूहले छुट्टाछुट्टै अधिवेशन कार्यतालिका अघि सारेका छन्। संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
यही पृष्ठभूमिमा धनगढी नगर कार्यसमितिले भने पार्टीभित्रको विवादलाई थप गहिरो बनाउने गरी अलग–अलग अधिवेशन नगरी सहमति, सहकार्य र एकताका आधारमा एउटै अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

