महेन्द्रनगर: कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले जिल्लाका सात पालिकाहरूमा अगुवा कार्यकर्ता भेला सकेलगत्तै संस्थापन पक्षले २३ भदौमा महेन्द्रनगरमा कार्यकर्ता भेला गरेको हो।
१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताद्वय एनपी साउद र रमेश लेखक, जिल्ला सभापति पदम बोगटीसहितका देउवापक्षीय नेताहरूको उपस्थितिमा कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त, दोधाराचाँदनी र पुनर्वासमा अगुवा नेता(कार्यकर्ताहरूको भेला भएको थियो। भेलामा नेताद्वय साउद र लेखकले पार्टी सभापति शेरबहादुर देउवालाई नसोधेरै निर्वाचन आयोगले सिधै गगन थापाको नाममा पार्टी आधिकारिकता दिएको आरोप लगाए।
थापा नेतृत्वको कांग्रेस अवैधानिक भएको भन्दै उनीहरूले १४औँ महाधिवेशनबाट निर्वाचित टिमले नै १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए। देउवापक्षीय नेता एवं कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा जिल्लाभरका नेता(कार्यकर्ताहरूसँग छलफल भेटघाट गरेको बताए। देउवापक्षीय नेताहरूले तीन दिन लगातार जिल्लाका विभिन्न ठाउँमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट सम्पन्न गरेको भोलिपल्टै संस्थापन पक्षले भदौ २३ गते मंगलबार जिल्ला पार्टी कार्यालयमा भेटघाट गरेको हो।
संस्थापन पक्षमा खुलेरै देखिएका १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सचिव नाफुसिंह साउदले जिल्ला उपसभापति हरिशचन्द्र रानाको अध्यक्षमा केन्द्रीय सदस्य सन्तोषी साउद ऐर, नेताहरू दिवानसिंह विष्ट, बहादुरसिंह थापासहितको उपस्थितिमा भेला गरिएको बताए। उनका अनुसार पार्टी एकताका लागि १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा तयारी बैठक गरेर एकताकै सन्देश दिन खोजिएको दाबी गरे।

