धनगढी: दशकअघि देशकै पहिलो फ्रेन्चाइज धनगढी प्रिमियर लिग सञ्चालन भएको धनगढीस्थित फाप्ला मैदान रंगशाला निर्माणको पर्खाइमा छ। फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने माग उठेको दशकसम्म पूर्वाधार निर्माणको सुरुवातसम्म भएको छैन। खेलाडी हिक्मत महराले सरकारको प्राथमिकतामा नपर्दा फाप्लामा रंगशाला निर्माण चर्चामै सीमित बनेको बताए। ‘सरकारी उपेक्षाकै कारण रंगशाला निर्माणको आवाज उठेको १०–१२ वर्षसम्म पूर्वाधार निर्माणको सुरुवातै हुन सकेन,’ उनले भने, ‘रंगशाला बनेको भए एनपिएलजस्ता प्रतियोगिता यहाँ पनि सञ्चालन गर्न सकिने अवस्था हुन्थ्यो।’
फाप्लावरिपरि तारबार लगाइएको छ। मैदान भने गौचरन बनेको छ। हरेक प्रतियोगिता गर्दा फाप्ला मैदानमा पिच बनाउन कम्तीमा ५–७ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उनले बताए। फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित खेलग्राम निर्माणको डिपिआर गत वर्ष असोजमा मात्र पूर्वाधार निर्माण विकास समितिबाट स्वीकृत भएको छ। धनगढी उपमहानगरपालिका– ३ स्थित फाप्ला क्षेत्रको साढे ३८ बिघा सरकारी जमिन खेलग्रामको नाममा आइसकेको छ। फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही भने फाप्ला खेलग्रामको डिपिआर (इआइए) स्वीकृत भइसकेकाले अब रंगशाला निर्माणको काम अघि बढ्नेमा आशा रहेको बताए। ‘जग्गा प्राप्ति, डिपिआर निर्माणलगायत सबै प्रक्रिया पूरा भएर पूर्वाधार निर्माण सुरु गर्न ‘बेस’ तयार भएको छ,’ शाहीले भने, ‘अब पूर्वाधार निर्माणको चरण सुरु हुन्छ।’
फाप्लामा डिपिएल गर्नुका साथै त्यसवेला ‘ड्रिम’ फाप्ला अभियान सुरु गरेका शाहीको अध्यक्षतामा सरकारले जेठ ०७९ मा पूर्वाधार विकास समिति गठन गरेको थियो। समितिका अनुसार गठन भएको सुरुका दुई वर्ष सरकारले डिपिआर बनाउन बजेट दिएन। डिपिआर र इआइएमा ६० लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ। डिपिआरअनुसार ५० हजार दर्शक अट्ने क्षमताको क्रिकेट रंगशाला, फुटबल मैदान, म्युजियम, आवास, होटेल, अस्पताललगायत अन्य व्यावसायिक संरचना निर्माण हुनेछन्। निर्माणको लागत २६ अर्ब अनुमान गरिएको छ। ०६९ मा अन्तरकलेज एसपिए कप क्रिकेट फाप्ला मैदानमा भएपछि यसको चर्चा सुरु भएको थियो। निजी क्षेत्रबाट गरिएको एसपिए कपलाई परिमार्जन गर्दै करिब आठ वर्षअघि फ्रेन्चाइज मोडेलमा त्यसबेला देशकै सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग (डिपिएल) सुरु भएपछि फाप्ला मैदानको चर्चा देशव्यापी बन्यो।
०७३ मा भएको डिपीएलमा देशका विभिन्न सहरका नाममा बनाइएका टीममा राष्ट्रियसँगै विदेशी खेलाडीसमेत सहभागी भएर खेल्दा अहिले त्रिवि रंगशालाकै जस्तो रौनक हुन्थ्यो फाप्लामा। जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरका प्रतियोगिता हुने फाप्लामा रंगशाला निर्माणका लागि निजी क्षेत्रबाटै ‘ड्रिम फाप्ला’को नाममा दवावमूलक अभियान नै सुरु भयो। फाप्लामा क्रिकेट रंगशाला निर्माणको आवाज जोडदार बन्दै गएपछि सुदूरपश्चिमको पहिलो सरकारले केही वर्ष बजेट पनि विनियोजन गर्यो। तर संघ सरकारले जग्गाबाट प्राप्ति नहुँदा प्रदेशले छुट्याउने बजेट कार्यान्वयन हुन सकेन।
खेलाडी अनुज सिहंले डिपिआर बन्नु उपलब्धि भए पनि त्यसअनुसार पूर्वाधार निर्माण हुनेमा विश्वास नरहेको बताए। राज्यले अहिले २६ अर्ब खर्च गर्ने अवस्था नरहेकाले क्रिकेट रंगशाला निर्माण कार्य पनि ओझेलमा पर्छ भन्ने लागेको उनले बताए। ‘दुई–चार वर्षमा यति धेरै बजेट राज्यले खर्च गर्न सक्ने कि नसक्ने अन्योल छ,’ उनले भने, ‘त्यसैले खेलग्रामका सबै पूर्वाधार एकैपटक बनाउनुभन्दा अहिले रंगशाला निर्माणलाई मात्र अगाडि बढाइनुपर्छ।’
पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष शाहीले पहिलो चरणमा तीन वर्षभित्र २५ हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माणको प्रस्ताव गरिएको र त्यसमा ११ अर्ब लगानी लाग्ने बताए। ‘सबै प्रक्रिया पूरा भएर यो परियोजना योजना आयोगको प्रोजेक्ट बैंकमा हाल्ने बाटो खुल्यो। रुख कटान र स्रोत सुनिश्चितता भएपछि कार्यान्वयनमा अगाडि बढ्ला,’ शाहीले भने। डिपिआरअनुसार पूर्वाधार निर्माण गर्न दुुई हजार ६ सय रुख काट्नुपर्ने उनले बताए।


