धनगढी । धनगढीमा रहेको केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानी भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको राहत र पुनस्र्थापनाका लागि सहयोग गरेको छ । अस्पतालले बाढीपीडितको सहयोगार्थ १२ लाख रुपैया दुई हजार ७७४ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत, खाद्यान्न वितरण, आपतकालीन चिकित्सा सेवा र दीर्घकालीन पुनस्र्थापनाका कार्यहरुमा परिचालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको केजी अस्पताल प्रालिका सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीले बताए । अस्पतालको भदौ ११ गतेदेखि १७ गतेसम्मको सबै आम्दानी ११ लाख ५१ ह्जार ६६३ रुपैयाँ र कर्मचारीको तर्फबाट ५१ ह्जार १११ रुपैयाँ बाढीपीडितलाई सहयोग गरिएको उनले जानकारी दिए ।
पीडामा रहेका नागरिकप्रतिको दायित्वलाई आत्मसात गर्दै अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूले समेत आफ्नो तर्फबाट स्वेच्छिक रूपमा सहयोग गरेको अस्पतालले जनाएको छ । ‘बाढी कारण आफन्त गुमाउनु भएका र बेपत्ता परिवारको पर्खाइमा छटपटाइ रहनु भएका नागरिकको पीडाप्रति हामी स्तब्ध छौँ’ सहायक प्रबन्ध निर्देशक अवस्थीले भने, ‘मानव जीवनको रक्षा र उपचार गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । यस विपद्को घडीमा समाजलाई आड भरोसा दिनु आफ्नो कर्तव्य ठानेर हामीले सात दिनको कलेक्सन र हाम्रा कर्मचारी साथीहरूको स्वेच्छिक सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा पठाउने निर्णय गरेका हौँ ।’
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो सहयोगले थोरै भए पनि पीडितको घाउमा मलम लगाउने विश्वास लिएको उनले बताए । यसका साथै सरोकारवाला निकायसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा प्रारम्भीक स्वास्थ्य सेवा पु¥याउन आफ्ना स्वयम्सेवक स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने तयारी रहेको पनि अस्पतालले जनाएको छ ।
विगतमा कोभिड १९ को चरम संकटकालका बेला अस्पतालहरुमा उपचार शुल्क बढेका बेला पनि केजी अस्पतालले सेवा भावसहित सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन, पीपीइ वा डाक्टर राउण्डका नाममा कुनै अतिरिक्त शुल्क नलिएर त्यसअघिकै सेवा शुल्कमा उपचार सुविधा दिएको उनले बताए ।
धनगढीको चौराहामा रहेको केजी अस्पतालले चौबिसै घण्टा आकस्मिक सेवा, ओपीडि, आधुनिक प्रविधिबाट शल्यक्रियालगायत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक र सेवामुलक कामहरु पनि गर्दै आएको सहायक प्रबन्ध निर्देशक अवस्थीले बताए ।

