धनगढी । कैलालीको भजनी नगरपालिका–१, गौनहियाका आकाश चौधरी र उहाँका बुवा लक्ष्मण रसुवास्थित पावर चाइना कम्पनीको सुरुङमा काम गर्न थालेको दुई महिना मात्रै भएको थियो । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका बेला आकाशसहित गाउँका पाँच जना सुरुङभित्रै काम गरिरहेका थिए ।
आकाशका अनुसार बिहान सुरुङभित्र काम गरिरहेका बेला अचानक तुफानजस्तो हावा चल्यो । केही बेरमै बाहिरबाट मानिसहरू चिच्याएको आवाज सुनिएपछि उनीहरू सुरुङबाट बाहिर निस्किए । बाहिर निस्कनासाथ ठूलो बाढी र कालो मुस्लो आएको र आँखैअगाडि मानिस, बस, जेसीबी तथा कम्पनीका संरचना बगाएको उनले बताए ।
समयमै भाग्न सफल भएपछि आकाशसहित गौनहियाका रामस्वरूप, सन्तोष र प्रेम चौधरीले ज्यान जोगाए । उनीहरूसँगै काम गर्ने बर्दियाका एक मजदुर भने सुरुङमै फसेका थिए । बाढी घटेको करिब १० घण्टापछि मात्रै उनी घस्रिँदै बाहिर निस्किएको आकाशले बताए ।
बाढीका बेला आकाश र उनका बुवा लक्ष्मण भने अलग–अलग ठाउँमा ओत लागेका थिए । आकाशले बुवालाई बाढीले बगायो कि भन्ने चिन्ता गरेका थिए भने लक्ष्मण छोराको अवस्था सम्झेर आत्तिएका थिए । लत्ताकपडा, पैसा र मोबाइलसमेत बाढीले बगाएको उनीहरूले बताए ।
बिहान हेलिकोप्टरमार्फत उद्धार गरिएका उनीहरू रसुवाबाट काठमाडौं हुँदै भदौ १६ गते घर फर्किएका हुन् । आफूहरू बाँचेर फर्किए पनि सुरुङभित्र १० देखि १५ किलोमिटर टाढा काम गरिरहेका कैलाली र बर्दियाका अन्य मजदुरको अवस्था अज्ञात रहेको भन्दै आकाश चिन्तित छन् ।
बाढीबाट जोगिएपछि लक्ष्मणले अब यस्तो जोखिमपूर्ण ठाउँमा काम गर्न नजाने बताएका छन् ।

