डोटी: स्रसुवा जिल्लाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै डोटीको जोरायल गाउँपालिकाले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३३ लाख २८ हजार ६ सय ४१ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आज बिहिवार बसेको जोरायल गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको हो।गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार उक्त सहयोग रकम विभिन्न स्रोतबाट जुटाइनेछ। गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषबाट २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको १५ दिनको सेवा–सुविधा बराबर २ लाख ७ हजार ९ सय ५२ रुपैयाँ सहयोग गरिने भएको छ।
यसैगरी गाउँपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीको ७ दिन, सहायकस्तरका कर्मचारीको ५ दिन तथा श्रेणीविहीन कर्मचारीको २ दिनको तलब बराबरको ७ लाख ६० हजार ८ सय ४१ रुपैयाँ सहयोगस्वरूप संकलन गरिनेछ। गाउँपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूको तर्फबाट भने २१लाख ४ हजार २ सय ९३ रुपैयाँ सहयोग गरिने भएको छ। यसरी विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक विद्यालय कर्मचारीबाट संकलन हुने कुल ३३ लाख २८ हजार ६ सय ४१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।
बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थानीय तहबाट गरिएको यो सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक विद्यालय कर्मचारीसमेत प्रत्यक्ष रूपमा जोडिएका छन्। गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाद्वारा जारी विज्ञप्तिमा विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायबाट भइरहेका प्रयासमा जोरायल गाउँपालिकाको पूर्ण ऐक्यबद्धता, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

