धनगढी: ‘देशैभरि मसँग त त म म चल्ने पाँच जना मात्रै छन्, जसमध्ये वीरबहादुर विष्ट पनि एक हुन् । वीरबहादुर भनेको गगन हो, ढुक्क हुनुस्, तपाईंले वीरबहादुरलाई भोट हाल्नु भनेको गगनलाई भोट हाल्नु हो ।’ २०७४ सालको निर्वाचनका क्रममा नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीका विभिन्न ठाउँमा पुगेर वीरबहादुर विष्टको पक्षमा गरेको भाषणको आशय थियो यो। थापाले विष्टसँग आफ्नो निकट सम्बन्ध रहेको बताउँदै मतदातालाई उनीप्रति विश्वास गर्न आग्रह गरेका थिए ।
थापाको त्यही अभिव्यक्तिको चर्चा भइरहेका बेला विष्ट स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि कांग्रेसको राजनीतिमा सक्रिय रहेका विष्टले गत प्रदेशसभा निर्वाचनमा टिकट पाए । त्यतिबेला उनी गगन थापा पक्षबाट टिकट पाएको नेताका रूपमा चर्चामा थिए ।
तर, समयसँगै कांग्रेसको आन्तरिक राजनीतिमा विष्टको भूमिका फेरिएको देखिएको छ । कुनै समय गगन थापासँग निकट मानिने उनै वीरबहादुर विष्ट अहिले शेरबहादुर देउवा समूहको बैतडी जिल्ला सभापति बनेका छन् ।
यसअघि जिल्ला कार्यसमितिको उपसभापति रहेका विष्टकै संयोजकत्वमा देउवा समूहले बैतडीमा पार्टीगत अभियान सञ्चालन गरेको थियो । अहिले उनी सोही समूहबाट जिल्ला सभापति चयन भएका छन् । गगन थापाले कुनै बेला ‘आफ्नै मान्छे’ का रूपमा प्रस्तुत गरेका विष्ट अहिले देउवा समूहको जिल्ला नेतृत्वमा पुग्नुलाई बैतडी कांग्रेसको बदलिँदो आन्तरिक राजनीतिक समीकरणका रूपमा हेरिएको छ ।


