धनगढी । कञ्चनपुरका स्थानीय तहले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै विपत् पूर्वतयारी अवस्थामा रहेको जनाएका छन् । यहाँका स्थानीय तहले जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जनाएका हुन् ।
डुबान हुने क्षेत्रका बासिन्दालाई समय समयमा विभिन्न माध्यमबाट सूचना प्रदान पनि गरिँदै आएको छ । जिल्लाका विभिन्न स्थानमा बिहीबार र शुक्रबार मध्यम वर्षा भए पनि शनिबार र आइतबार भारी वर्षा हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै खोज तथा उद्धार सामग्री तयारी अवस्थामा रहेको पालिकाहरूले जनाएका छन् ।
दोधारा चाँदनी नगरपालिकाका विपत् सम्पर्क व्यक्ति अमृत विकले डुबान हुन सक्ने समुदायको पहिचान गरी उनीहरूले घरमा राखेका अन्नबाली सुरक्षित स्थानमा राखिएको बताउनुभयो । दोधाराको वडा नम्बर ३ स्थित पटराखल्लाका ३० घरधुरी बाढीको उच्च जोखिममा रहेको उनले बताए । ती परिवारको खाद्यान्न सामग्री बाढी आउनुपूर्व नै नगर प्रहरी तथा विपत् उद्धार टोलीले शुक्रबार दिउँसोसम्म सुरक्षित स्थानमा राखेको उनले जानकारी दिए ।
उनीहरूको घरमा रहेको गहुँ, धानलगायत खाद्यान्न बाली सोही वडास्थित जमुना आधारभूत विद्यालयमा सुरक्षित राखिएको विपत् सम्पर्क व्यक्ति विकले बताउनुभयो । यसका साथै बाढी आइहाले ती समुदायका मानिसका लागि पनि विद्यालयमा बस्नका लागि सबै व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
पुनर्वास नगरपालिकाले जोखिमयुक्त परिवारका सदस्यलाई विभिन्न माध्यम तथा मोबाइलमा समेत सूचना पठाएर सजग रहन आग्रह गरेको छ । नगरपालिकाका विपत् सम्पर्क व्यक्ति ओमनाथ ढकालले बाढी जोखिम क्षेत्रमा रहेका दुई सय परिवारका सदस्यलाई मोबाइलमार्फत सूचना पठाएर सुरक्षित रहन आग्रह गरिएको बताए ।
बाढीको उच्च जोखिममा रहेका यहाँको वडा नम्बर ५ सिमरी, रातो ताल, वडा २ स्थित दशरथ बस्ती तथा वडा १० स्थित चकमली विकास बस्तीका परिवारलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था पनि मिलाइएको उनको भनाई छ । यसका लागि सिमरी चन्द्रबाल आधारभूत विद्यालय र अलङ्गार आधारभूत विद्यालयमा खानेपानी, शौचालय, बिजुली बत्तीको उचित व्यवस्थापन मिलाइएको विपत् सम्पर्क व्यक्ति ढकालले जानकारी दिनुभयो । दोदा नदीका कारण डुबानमा पर्दै आएका समुदायमा पुगी राज्यले मात्रै गरेर सम्भव नहुने भएकाले आफूले तयारी अवस्थामा रहन आग्रह गरेको उनले बताए ।
बेलडाँडी गाउँपालिकाले पनि डुबानमा पर्न सक्ने क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ । गाउँपालिकाकाका विपत् सम्पर्क व्यक्ति पुरुषोत्तम जोशीले गाउँपालिकाको वडा नम्बर ५ स्थित चौधर नदीको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षाका लागि बाँध फुट्न सक्ने क्षेत्रमा माटो भर्ने काम गरिएको बताउनुभयो । चौधर नदी फुटेर यहाँका बस्ती डुबानमा पर्दै आएकाले त्यसको पूर्वतयारीका लागि शुक्रबार मात्रै अस्थायी तटबन्ध निर्माणको काम गरिएको उनले बताए ।
कृष्णपुर नगरपालिकाका सूचना अधिकारी तथा विपत् सम्पर्क व्यक्ति प्रेम बोगटीले पालिका कर्मचारी, नगर प्रहरीलगायत विपत्को टोली परिचालन गरेर टोल टोलमा माइकिङ तथा विभिन्न माध्यमबाट सुरक्षित रहन सूचना प्रवाह गर्दै आएको बताउनुभयो । कृष्णपुरमा बाढी जोखिम क्षेत्रका परिवारलाई समयमै सुरक्षित स्थानमा सार्नका लागि विद्यालय भवनमा तयारी गरिएको जानकारी दिए ।
शुक्रबार जिल्लाको भीमदत्त, शुक्लाफाँटा, बेलौरीलगायत क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भएको छ । शनिबार र आइतबार भारी वर्षा हुन सक्ने जोखिमलाई दृष्टिगत गर्दै यहाँका पालिकाहरूले आगामी आइतबारसम्म विद्यालयका नियमित तथा अतिरिक्त कक्षा सञ्चालनमा समेत रोक लगाएका छन् । विपत्मा परेका परिवारलाई विद्यालयमा राख्नका लागि पूर्वतयारी तथा विपत् खोज उद्धार सामग्री तयारी अवस्थामा राखिएको पालिकाहरूले जनाएका छन् ।

