धनगढी । निरन्तर भइरहेको वर्षाका कारण कैलालीको धनगढीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। बिहीबार दिउँसोदेखि सुरु भएको वर्षा आज बिहानसम्म पनि रोकिएको छैन। लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका विशालनगर, शिवनगर, क्याम्पस रोड आसपासका केही क्षेत्रलगायत तल्लो भूभागमा पानी जमेको छ।
वर्षा नरोकिएपछि डुबानको जोखिम थप बढेको छ। सम्भावित समस्या र जोखिमलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले विभिन्न क्षेत्रमा निगरानी बढाएको छ।

लगातारको वर्षाका कारण धनगढीको जनजीवनसमेत प्रभावित भएको छ। सडकमा पानी जम्दा आवतजावतमा समस्या देखिएको छ भने वर्षाका कारण लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
वर्षा अझै जारी रहेकाले डुबान तथा अन्य सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह तथा सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।


