धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि सुरु भएको वर्षा लगातार भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पश्चिमतर्फ फैलिँदा सुदूरपश्चिमसहित कर्णाली प्रदेशमा वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भइरहेको वर्षा आइतबारसम्म जारी रहने सम्भावना छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले महाशाखाले सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उनका अनुसार पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा हुने भए पनि पश्चिमी क्षेत्रमा शुक्रबारको तुलनामा वर्षा अझ बढ्न सक्ने देखिएको छ।
विशेषगरी सुदूरपश्चिम र कर्णालीमा शनिबार ठूलो वर्षा हुने आकलन गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने, सडक यातायात प्रभावित हुन सक्ने तथा तल्लो भूभागमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता आवश्यक देखिएको छ। जल तथा मौसम विज्ञान विभागले वर्षासम्बन्धी सूचना तथा जोखिमको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
आइतबारदेखि वर्षा केही घट्ने अनुमान गरिए पनि सुदूरपश्चिम र कर्णालीमा ठूलो वर्षाको सम्भावना कायमै रहनेछ। सोमबार सुदूरपश्चिममा मध्यम वर्षा हुन सक्ने र मंगलबारदेखि भने देशभरको मौसममा क्रमशः सुधार आउने पूर्वानुमान छ।

