धनगढी । इटालियन ब्रान्ड भेस्पा र अप्रिलियाका स्कुटर अब धनगढीमै आधिकारिक रूपमा उपलब्ध हुने भएका छन्। धनगढी उपमहानगरपालिका–४, चटकपुरमा स्थापना गरिएको भेस्पा लेजेन्ड्सको आधिकारिक सोरुम शुक्रबारदेखि सञ्चालनमा आएको हो।
सोरुमको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उनले धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक सवारीसाधनको विस्तारले यहाँको व्यवसायिक वातावरण थप प्रतिस्पर्धी बन्ने बताए।
उनले निजी क्षेत्रबाट हुने नयाँ लगानी र व्यवसाय विस्तारले स्थानीय बजारसँगै समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
भेस्पाका प्रमुख कार्यकारी अधिकृत विजय मेहताले कम्पनीले आफ्नो ८०औँ वर्ष सफलतापूर्वक पूरा गरेको जानकारी दिँदै भेस्पा आफ्नो विशिष्ट डिजाइन, आकर्षक स्वरूप र आरामदायी यात्राका कारण विश्वभर लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएको बताए।
त्यस्तै, भेस्पाका डेपुटी जनरल म्यानेजर विकास शाहले दसैँ–तिहारलाई लक्षित गरी भेस्पा तथा अप्रिलियाका स्कुटर खरिदमा विभिन्न आकर्षक योजना सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार ग्राहकका लागि उपहार, एक्सचेन्ज तथा किस्ताबन्दी सुविधासहितका विकल्प उपलब्ध छन्।
नयाँ सोरुमबाट भेस्पा र अप्रिलियाका विभिन्न मोडलका स्कुटर बिक्रीसँगै ग्राहकलाई मोडल छनोटसम्बन्धी परामर्श, मर्मतसम्भार र बिक्रीपछिको सेवा पनि उपलब्ध गराइनेछ।
आधिकारिक सोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकलाई भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्न धनगढीबाहिर जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। सोरुम सञ्चालकले आधुनिक डिजाइन र सुविधासहितका यी ब्रान्डले सुदूरपश्चिमका ग्राहकको विश्वास जित्ने अपेक्षा गरेका छन्।

