धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको भित्री बाटोमा निर्माणाधीन सडकमा खाल्टैखाल्टा हुँदा यात्रुुले निकै समस्या भोग्नु परेको छ । धनगढी गाउँ–घुइँयाघाट–बेली रोड जोड्ने निर्माणाधीन सडकमा बनेका खाल्टाखुल्टी निर्माण कम्पनीले नपुर्दा आवतजावतमा समस्या भएको हो । धनगढीको बजार क्षेत्रमा सडक चिटिक्क भए पनि भित्री र ग्रामीण क्षेत्रका थुप्रै सडक भने हिँडडुल गर्नै नसक्ने गरी बिग्रिएका छन् ।
निर्माणाधीन सडक बर्खामा हिलाम्मे हुनुका साथै दुर्घटनाको कारक बनेको छ । धनगढी गाउँदेखि घुइँयाघाटसम्म सडकमा यत्रतत्र बनेका ठुला खाल्टामा सवारीसाधन फस्ने समस्या उत्तिकै छ । पानीले भरिएका ठुल्ठुला खाल्टामा दुर्घटना हुने गरेका छन् । मुख्य सडक क्षेत्रलाई झिलिमिली बनाएको धनगढी उपमहानगरपालिकाले भित्री क्षेत्रको सडकलाई कम प्राथमिकता दिँदा यस्तो नियति भोग्नु परिरहेको धनगढी गाउँका बाबुराम रानाले बताए । उनले पानी परेपछि सडक नै बाढी आएको जस्तो हुने गरेको बताए । यत्रतत्र बनेका खाल्टामा कमसेकम ग्राभेल हालेको भए हिँडडुल गर्न सहज हुने उनको विश्वास छ ।
एसियाली विकास बैङ्क एडिबी को आर्थिक सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत यो सडक निर्माण भइरहेको छ । आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार धनगढी गाउँदेखि बेली रोडसम्मको दुरी ३.८२९ किलोमिटर रहेको छ । धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएर सडक निर्माण गरिरहेको छ । २०२५ को डिसेम्बर अन्तिममा ठेक्का भई निर्माण अगाडि बढाइएको थियो । निर्माण कम्पनीले नाली निर्माण, माटो फिलिङलगायतका कार्य गरिसकेको छ । यद्यपि सडकमा खाल्टाखुल्टी उस्तै छन् ।
धनगढीको एसपिए कलेजमा अध्ययनरत विद्यार्थी उमेशराज जोशी सडक बिग्रेका कारण पानी परेको समयमा कलेज पुग्नै ढिलो हुने गरेको गुनासो गरे । जुगेडादेखि धनगढी गाउँसम्म पुग्न धेरै सयम लाग्छ उनले भने, खाल्टाखुल्टी भएकाले साइकल चलाउन समस्या हुन्छ ।” स्थानीय तहको पहिलो निर्वाचनताका यो सडक बिग्रेको थियो ।

