धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल नागरिकका गुनासा सुन्न र सुझाव संकलन गर्न निर्वाचन क्षेत्रमा पुगेका बेला कैलालीको लम्कीचुहा अस्पतालमा भएको छलफल विवादमा तानिएको छ। अस्पतालको सेवा, व्यवस्थापन र सुरक्षा अवस्थाबारे भएको छलफलका क्रममा प्रश्न उठाउने व्यक्तिलाई सांसद खनालले आक्रोशपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।
सार्वजनिक भिडियोमा सांसद खनालले औँला ठड्याउँदै, “कल्ले भन्यो ? प्रमाण छ ? हाल्छु, जाक्दिन्छु समाएर अनि थाहा हुन्छ” भन्दै प्रश्नकर्ताप्रति आक्रोश व्यक्त गरेको सुनिन्छ। उनले “अनाधिकृत रूपमा बोल्न मिल्छ ? कल्ले फोन गर्यो ? प्रमाण छ तपाईंसँग ?” भन्दै थप प्रश्न गरेका छन्। कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूले पनि प्रमाणबिना आरोप नलगाउन सुझाव दिएको भिडियोमा देखिन्छ।
अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापाले आफूहरूले अस्पतालमा पाँच महिनादेखि काम गर्ने वातावरण नभएको, सुरक्षा अभाव रहेको र सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने विषय उठाएको बताए। उनका अनुसार आफूले “गृह मन्त्रालय के हेरेर बसेको छ ?” भन्ने प्रश्न गरेपछि सांसद खनालले आवेशमा आएर विवादास्पद अभिव्यक्ति दिएका हुन्।
थापाले साउन ९ गते अज्ञात समूहले अस्पतालमा तालाबन्दी गरेको घटनापछि शान्ति–सुरक्षाको विषय गम्भीर बनेको र त्यसबारे सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको जानकारी दिए। उनले अस्पताल जसले सञ्चालन गरे पनि सेवा नियमित हुनुपर्ने आफूहरूको माग रहेको बताए।
छलफलका क्रममा सांसद खनालले अस्पताल सञ्चालनको जिम्मेवारी स्थानीय र प्रदेश सरकारले लिनुपर्ने धारणा राख्दै, “यदि प्रदेश सरकारले पनि अस्पताल चलाउन सक्दैन भने संघ सरकारले चलाउँछ” भन्ने अभिव्यक्ति दिएको थापाले बताए। साथै, “रास्वपा पहिलो दल हो, व्यवस्थापन समितिको अध्यक्ष हामीलाई दिनुस्, हामी अस्पताल चलाउँछौं” भन्ने प्रस्ताव पनि सांसदबाट आएको उनको दाबी छ।
थापाका अनुसार हालको अस्पताल व्यवस्थापन समिति गत चैतमा तीन वर्षे कार्यकालका लागि गठन गरिएको हो। संघीय सरकारले चाहे नयाँ कार्यविधि वा मन्त्रिपरिषद्को निर्णयमार्फत व्यवस्थापन समिति पुनर्गठन गर्न सक्ने कानुनी व्यवस्था रहेको उनले उल्लेख गरे।
घटनापछि सार्वजनिक भएको भिडियो र सांसदको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। सांसद खनालको आधिकारिक धारणा भने आउन बाँकी छ। साभार अनलाइन खबर

