काठमाडौँ: काठमाडौँको गोंगबु बसपार्क नजिकैको होटलमा मृत भेटिएकी धनगढीकी युवतीको हत्या आशंकामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। सोमबार बिहान ११ बजेतिर मित्रनगरस्थित होटल माउण्ट एल्भिसको चौथो तलाको कोठामा धनगढी उपमहानगरपालिका-७ स्थायी ठेगाना बताउने अन्दाजी २५-३० वर्षकी निशा सुनार मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्या भएको प्रहरीले बताएको छ।
घटनामा संलग्नहरूको खोजतलास गर्ने क्रममा बाँके प्रहरीले जुम्ला, चन्दननाथ गाउँपालिका १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका बस्ने २० वर्षीय दानबहादुर शाही र दैलेख, डुड्गेश्वर गाउँपालिका ६ घर भई महाराजगंञ्ज बस्दै आएका रमेश बुढालाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दानबहादुरले होटलमा कोठा बुक गरेका थिए भने रमेश बुढाले युवतीलाई कोठामा लिएर गएपछि दानबहादुर त्यहाँबाट हिँडेका थिए। प्रहरीले रमेशले नै सुनारको हत्या गरेको बताइएको छ।
उनीहरूमााथि कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

