धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेको छोटो अवधिमै प्रहरी नायव महानिरीक्षक डीआईजी सानुराम भट्टराईले लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, तस्करी रोकथाम, ट्राफिक व्यवस्थापन तथा प्रहरी संगठनभित्र सुशासन कायम गर्ने अभियानलाई तीव्रता दिएका छन्।
अघिल्लो महिना सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका भट्टराईले पदभार ग्रहण गरेलगत्तै अघिल्लो नेतृत्वका बेला गरिएको ४ सय ४४ जना प्रहरी कर्मचारीको काज सरुवा बदर गरेका थिए। उनले प्रहरी संगठनभित्र पारदर्शिता, अनुशासन र सुशासनलाई प्राथमिकतामा राख्दै काम अघि बढाएका छन्।
डीआईजी भट्टराईले प्रदेशभर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी जनशक्ति व्यवस्थापन, नागरिक तथा पीडितमैत्री सेवा प्रवाह, मानवअधिकार संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेको बताएका छन्। लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण, जुवातासलगायत गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन मातहतका प्रहरीलाई निर्देशन दिएको उनको भनाइ छ।
लागूऔषधसम्बन्धी १ सय १४ वटा मुद्दा दर्ता भएका छन्। गाँजा, चरेश, खैरो हेरोइनलगायत विभिन्न लागूऔषध बरामद गर्दै १ सय ८९ पुरुष र ७ महिला गरी १ सय ९६ जनालाई पक्राउ गरिएको छ।
कैलालीमा सञ्चालन गरिएको विशेष ‘स्विप अपरेशन’ अन्तर्गत १ सय ४९ जनालाई नियन्त्रणमा लिइएको थियो। तीमध्ये ७४ जना लागूऔषध प्रयोगकर्ता र २८ जना कारोबारीलाई कानुनी दायरामा ल्याइएको छ भने प्रमाण नपुगेका ५७ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
भन्सार छली नियन्त्रण अभियानअन्तर्गत करिब एक महिनामा १ करोड २७ लाख २३ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। यस क्रममा ९ जना पक्राउ परेका छन्।

