धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ का ९ वर्षीय युवराज नेपालीको सर्पदंशपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले सर्पले टोकेपछि गम्भीर अवस्थामा अस्पताल ल्याइएका बालकको उपचारकै क्रममा मृत्यु भएको पुष्टि गरे।
परिवारका अनुसार सोमबार राति करिब १२ बजे शौचालय जाने क्रममा युवराजको दायाँ खुट्टामा सर्पले टोकेको थियो। उनलाई तत्काल बडैपुर स्वास्थ्य केन्द्र लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो।
मृतकका बुवा कृष्ण नेपालीले अस्पताल पुगेपछि पनि समयमै आवश्यक उपचार नपाउँदा छोराको ज्यान गएको आरोप लगाए। बिरामीको अवस्था बिग्रँदै जाँदा उपचारमा ढिलाइ भएको भन्दै परिवारका सदस्यहरूले अस्पतालभित्रको भिडियो खिचेका थिए, जुन पछि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त घटनापछि अस्पतालको उपचार प्रणालीप्रति व्यापक आलोचना भइरहेको छ।
कृष्ण नेपालीका अनुसार भिडियो खिच्ने क्रममा परिवारका सदस्यहरूमाथि अस्पतालका कर्मचारी र प्रहरीबाट हातपातसमेत भएको थियो। यता, सेती प्रादेशिक अस्पताल प्रशासनले भने बालक अस्पताल आइपुग्दासम्म अवस्था अत्यन्तै गम्भीर रहेको र चिकित्सकहरूले आवश्यक उपचार गरिरहेकै क्रममा उनको मृत्यु भएको जनाएको छ। अस्पतालले अनुमति बिना अस्पतालभित्र भिडियो खिच्न नपाइने कानुनी व्यवस्था भएकाले भिडियो खिच्न रोकिएको स्पष्ट पारेको छ।
मृतक युवराज परिवारका एकमात्र छोरा थिए। उनको शव परिवारले बुझिसकेको छ। घटनापछि स्थानीयवासी तथा परिवारले उपचार प्रक्रियामा भएको भनिएको लापरबाहीबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

