धनगढी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व सचिव डम्बर भट्टराई नेकपा (एमाले) मा प्रवेश गरेका छन्। बिहीबार धनगढीस्थित एमाले प्रदेश पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य अफिलाल ओखेडा, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश सचिव रणबहादुर चन्दलगायतका नेताहरूले भट्टराईलाई पार्टीमा स्वागत गरेका हुन्।
भट्टराई लामो समयदेखि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मार्फत सक्रिय राजनीतिमा संलग्न थिए। उनी विद्यार्थी आन्दोलनका साथै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। पछिल्लो समय भने उनी माओवादी केन्द्रका गतिविधिमा कम सक्रिय हुँदै आएका थिए। त्यसपछि उनले एमाले रोज्दै औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
एमालेले भट्टराईको प्रवेशले सुदूरपश्चिममा पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेको छ। भट्टराईले पनि देशको समृद्धि, राजनीतिक स्थायित्व र जनताको अपेक्षा पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको भन्दै पार्टीमा आबद्ध भएको बताएका छन्।


