धनगढी: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकार पक्षबिचको वार्ता सहमति नजिक पुगेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि ५ बुँदामा राखेका मागका विषयमा आइतबार सरकारी वार्ता टोली र डा। केसी पक्षबिच करिब ११ घण्टा लामो वार्ता भएको थियो। सेती प्रादेशिक अस्पतालका मेसु डा। हेमराज पाण्डेको कार्यकक्षमा वार्ता टोली र केसीका प्रतिनिधिबिच छलफल चलेको थियो। राति ११ बजे उनीहरू वार्ताबाट उठेका थिए।
सरकारका तर्फबाट वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटा र शिक्षा सचिव चूडामणि पौडेल तथा डा. केसीका तर्फबाट डा. अमृत जैसी र डा. पवन थापा वार्तामा सहभागी थिए। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य पुकार बम पनि सहभागी भएका थिए। डा. केसी र सरकार पक्षबिच वार्ता सहमति नजिक पुगेको वार्ता टोलीमा सहभागीले बताएका छन्।
सुदूरपश्चिम प्रदेशका बासिन्दाले चासोका रूपमा हेरिएको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चाँडोभन्दा चाँडो सुरु गर्ने विषयमा दुवै पक्ष एकमत रहेको केसीका तर्फबाट वार्तामा सहभागी डा। जैशीले बताएका छन्। ‘दशरत चन्द मेडिकल विश्वविद्यालयलाई चाँडोभन्दा चाँडो गर्ने विषयलाई केन्द्रमा राखेर भएको वार्तामा ३ सय शय्याको अस्पताल तत्काल संचालन गर्ने र प्रक्रिया अगाडि बढाएर तुरुन्तै मेडिकल कक्षा सुरु गर्ने विषयमा दुवै पक्ष सहमत भयौं,’ डा.जैशीले भने।
तत्काल ३ सय शय्या अस्पताल संचालनका लागि आवश्यक दरबन्दीको विज्ञापन गर्ने, सिनेटमा लैजाने गरी सबै काम अगाडि बढाइने कुरामा सहमति जुटेको छ। यसैगरी, चिकित्सा शिक्षाको पढाइका लागि सुरु गरिएको प्रक्रिया अवरुद्ध नगरी द्रुत रूपमा अगाडि बढाइ यसै शैक्षिक सत्रदेखि सुरु गर्ने पनि सहमति जुटिसकेको उनले बताए। डा। केसीले अगाडि सारेका मागहरूमा प्रायस् सबैमा सहमति जुटिसकेको र दुई माग मात्र कुरा मिल्न बाँकी रहेको उनले बताए।
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गर्ने र निजी मेडिकल कलेजको सिट संख्याको तोकेर जाने विषयमा मात्र सहमती जुट्न नसकेको वार्तामा सहभागीले बताएका छन्। श्रोतका अनुसार विवादास्पद छविका रजिष्ट्रार डा.भीमबहादुर चन्दलाई हटाउने विषयमा सरकार पक्ष पनि सहमत भएको छ। सरकार पक्षले चन्दलाई राजीनामा दिन लगाउने मनस्थिति बनाइसकेको भए पनि कैलाली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने केपी खनालले उनलाई रोक्न जोडबल लगाइरहेको श्रोतले बताएको छ।
चन्दलाई पदमुक्त गर्ने र उपकुलपति डा।सुनिलप्रसाद जोशीलाई प्रक्रिया अवरोध हुन नदिनका लागि ३ वा ६ महिनासम्म कायम राख्ने गरी आइतबारको वार्तामा सहमति नजिक पुगेको श्रोतले बताएको छ। संसदबाट ऐन संशोधन गरुन्जेलसम्म जोशीलाई कायम राख्ने र त्यसपछि स्वतन्त्र प्रतिस्पर्धाबाट नयाँ उपकुलपति नियुक्ति गर्ने विषयमा छलफल चलेको छ। तर डा। केसीले भने दुवै जनालाई हटाएर स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अवरुद्ध नहुने गरी व्यवस्था गर्नुपर्ने अडान कायमै राखेका छन्।
दुवै जनालाई पदमुक्त गर्दा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अवरुद्ध हुनसक्ने भएकाले शहिद दशरत चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन प्रभावित नहुने नगरी सहमति गरिने श्रोतले बताएको छ। केसीले स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरिनु पर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरिनुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरिनुपर्ने तथा विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरिनु पर्ने उनले माग राखेका थिए।
यसैगरी, सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने र २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने उनले माग अघि सारेका थिए।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नितिगत विचलनका विरुद्ध तथा शुसासन कार्यम गर्न भन्दै धनगढीस्थित कृष्ण मन्दिरमा गत बिहीबारदेखि उनले २४ औं सत्याग्रह सुरु गरेका थिए। स्वास्थ्यमा जटिलता आएपछि शनिबार सेती प्रादेशिक अस्पतालमा आईसियुमा भर्ना गरिएको थियो। अहिले उनको सेती प्रादेशिक अस्पतालमा आईसियुमा उपचार भैरहेको छ।

