धनगढी । सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘सुदूरपश्चिम खप्तड गोल्डकप–२०८३’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले धनगढी रंगशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागेको हो।
क्लबका महासचिव प्रकाश शाहीले फुटबल खेलको विकास र विस्तारसँगै सुदूरपश्चिम प्रदेशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनका अनुसार सुदूरपश्चिममा फुटबलको विकासमा निरन्तर योगदान पु¥याउँदै आएको क्लबले २०७३ सालदेखि खप्तड गोल्डकप आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य राखिएको छ।
प्रतियोगितामार्फत सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने, युवामा फुटबलप्रतिको आकर्षण बढाउने, खेल पर्यटनको विकास गर्ने तथा सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको महासचिव शाहीले बताए।
प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा खेलाडी तथा पदाधिकारीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ। प्रतियोगिता सफल बनाउन सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी, खेलप्रेमी, खेलकुदसम्बन्धी संघसंस्था तथा आम नागरिकको सहयोग आवश्यक रहेको क्लबका अध्यक्ष योगेन्द्र चन्दले बताए।
प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीसहित १० वटासम्म टोली सहभागी हुने जनाइएको छ। धनगढी रंगशालामा आयोजना हुने प्रतियोगिताले सुदूरपश्चिममा फुटबलको माहोल थप तताउने आयोजकको विश्वास छ।


