धनगढी- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि उचालेपछि प्रदेश राजधानी धनगढीमा आतिसवाजी गरेर खुसियाली मनाइएको छ । क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा फाइनल खेलको प्रत्यक्ष प्रसारण हेर्न जम्मा भएका दर्शकले नाचगान र आतिसवाजी गरेर खुसियाली मनाएका हुन् ।
धनगढी उपमहानगरले धनगढीको पार्क गेटमा ठुलो डिजिटल बोर्डमा फाइनलको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाएको थियो, जहाँ सयौँ दर्शक उपस्थित थिए । त्यस्तै, यहाँका विभिन्न होटेल तथा रेस्टुरेन्टले पनि ठुलो पर्दामा फाइनलको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरेका थिए । सुदूरपश्चिमले उपाधि जितेसँगै समर्थकले नाचगान तथा सुदूरपश्चिमको पक्षमा नाराबाजी गरेका थिए । सुदूरपश्चिमले उपाधि उचालेपछि खुसी लागेको प्रत्यक्ष प्रसारण हेर्न पुगेका स्थायी युवा सरोज धामीले बताए । देशकै सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिताको उपाधि जित्दा सुदूरपश्चिम प्रदेशकै पहिचान उचो बनेको उनको भनाइ छ ।
सुदूरपश्चिम क्रिकेटको उर्वर भूमिका रूपमा चिनिन्छ । एनपिलएलमा सहभागी सबै टिमका खेलाडीको संख्या हेर्ने हो भने सुदूरपश्चिमका खेलाडीको वर्चस्व देखिन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीको उत्कृष्ट प्रदर्शन रहँदै आएको छ ।
धनगढी प्रिमियर लिग (डिपिएल)जस्ता देशकै ठुला क्रिकेट प्रतियोगिताले यसको पहिचान क्रिकेटको सहरका रूपमा स्थापित गरेको थियो । पछिल्ला वर्षमा भने यो प्रतियोगिता निरन्तर छैन । निजी स्तरबाट कलेजस्तरीय लिटल फ्लावर प्रिमियर लिग हरेक वर्ष हुँदै आएको छ ।
फाइनल हेर्न पार्कको गेटदेखि पार्कमोडस्थित मुख्य सडक र आसपासमा सयौँ समर्थक उपस्थित थिए । भिड यति थियो कि रुख र घरको छतबाट समेत दर्शकले प्रत्यक्ष प्रसारण हेरेर आनन्द लिए । दुईपटक उपविजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्सले उपाधि जित्दा निकै खुसी लागेको अर्का दर्शक लीलाराज खनालले बताए । उपाधि जित्नु प्रदेशकै लागि गौरव र सानको विषय भएको उनको भनाइ छ । क्रिकेटको उर्वर भूमि र ठुलो सम्भावना भएको सुदूरपश्चिममा राज्यले क्रिकेटका पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने खनालले बताए । ‘फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने विषय हालसम्म चर्चामै सीमित छ । यहाँ स्तरीय क्रिकेट मैदान छैन,’ उनले भने, ‘खेल र पूर्वाधारमा लगानी बढाउने हो भने अझ धेरै उत्कृष्ट खेलाडी उत्पादन हुन्छन् ।’
डेढ दशकअघि देशकै पहिलो फ्रेन्चाइज प्रतियोगिताका रूपमा भएको डिपिएलले फाप्ला क्रिकेट मैदानलाई पनि चर्चामा ल्याएको थियो । फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित खेलग्राम निर्माणको डिपिआर तयार भइरहेको छ, तर निर्माण कार्य अगाडि बढ्न सकेको छैन । सरकारले शुक्रबार मात्र फाप्ला मैदानमा जमिनको सतहमा माटो भरान गर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक लगाउने कामका लागि ठेक्का अगाडि बढाएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अगाडि बढाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्व बोकेको यो आयोजनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउँदै खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको उल्लेख गरेका छन् ।


