काठमाडौं: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधिका लागि शनिबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ ५ बजे सुरु हुनेछ । फाइनल खेलसँगै एक महिना चलेको एनपिएलको महोत्सव पनि सकिनेछ । उपाधि भिडन्तको विजेताले इतिहास बनाउने पक्का छ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लगातार दोस्रोपटक र दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम भने तेस्रोपटकको फाइनल प्रयासमा च्याम्पियन हुने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रनेछ । गत संस्करण लुम्बिनीले सुदूरपश्चिमलाई हराएर पहिलोपटक उपाधि जितेको थियो । दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम यसपटक इतिहास बनाउने योजनामा छ । यस सिजन लुम्बिनी उत्कृष्ट फर्ममा छ । लुम्बिनीले अन्तिम दुई स्थान रक्षा गर्दा केवल एक खेल मात्र गुमाएको छ । काठमाडौं गोर्खाजसँग मात्र लुम्बिनी पराजित भएको थियो । सुदूरपश्चिमको फाइनल यात्रा उतारचढावपूर्ण रह्यो । सुदूरपश्चिम पहिलो तीनमध्ये दुई खेलमा पराजित भएको थियो । त्यसपछि समूह चरणका पछिल्लो चार खेलमा जित निकाली लगातार जित निकाल्दै प्लेअफमा स्थान बनाएको थियो ।
प्लेअफमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई निराश बनाउँदै लगातार तेस्रोपटक फाइनलमा स्थान रक्षा गर्यो । सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल खेल्ने एक्लो एनपिएलको फ्रेन्चाइज टोली हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंहले लुम्बिनीको बलिङ बलियो रहेको बताउँदै उनीहरूलाई रोक्न बताए । ‘लुम्बिनीको बलिङ निकै राम्रो छ । हामी उनीहरूलाई रोक्न खेल्छौँ,’ उनले भने ।
दीपेन्द्रसिंहले फाइनलमा खेलाडी फिट रहेको जनाउँदै खेलाडी परिवर्तन नहुने जनाए । सुदूरपश्चिमका लागि श्रीलंकन थारिन्दु रत्नायेकेले फर्ममा छन् । उनले पछिल्लो खेलमा ५३ रन बनाएका थिए । उनीसँगै जर्ज मुन्से, वेस्ट इन्डिजका फावियन एलेन र न्युजिल्यान्डका स्कट कुगुलेइनजस्ता विदेशी खेलाडीले सुदूरपश्चिमलाई साथ दिनेछन् । स्वदेशी खेलाडीमा विनोद भण्डारी, ईशान पाण्डे, आरिफ शेख, हेमन्त धामी, अनिल खरेल र अभिनाश बोहरा रहेका छन् ।
खेलाडी परिवर्तन नहुने
कप्तान दीपेन्द्रसिंहले विदेशी खेलाडी परिवर्तन हुँदा प्रदर्शनमा उतारचढाव आएको मानेका छन् । ‘खेलाडी लगातार परिवर्तन हुँदा टोलीमा समस्या हुन्छ । टोलीको प्रदर्शन तल–माथि हुन्छ । त्यसैले पनि तालमेल मिलिरहेको हुँदैन,’ फाइनलअघि उनले भने । आइसिसीको पूर्ण मान्यता पाए पनि एनपिएलमा आवद्ध विदेशी खेलाडीले बिचमै प्रतियोगिता छाड्ने प्रवृत्ति बढेको छ । पहिलो खेल खेलेका सैफ जैव, ब्रान्डन म्याकमुलेन र शेरफान रुथरफोर्ड सुदूरपश्चिमलाई बिचमै छाडेर युएईमा खेल्न पुगेका थिए ।
लुम्बिनीका कप्तान रोहितले लगातारको विश्रामले फाइनलअगाडि सहज भएको बताए । उनले पछिल्लो नतिजाले आत्मविश्वास बढाएको जनाएका छन् । ‘तीन दिनको विश्राम थियो । अभ्यास पनि राम्रो भयो । जेजे सुधार गर्नुपर्ने थियो, हामीले पूरा गरेका छौँ,’ रोहितले भने, ‘हामी फाइनलका लागि तयार छौंँ र उत्साहित पनि छौँ ।’ रोहितले सुदूरपश्चिम आफैँमा राम्रो टोली भएकाले सम्हालिएर खेल्ने बताए । ‘मोमेन्टम एकदमै महत्वपूर्ण हुन्छ । टिमलाई विश्वास छ, हामी जुनसुकै टिमलाई पराजित गर्न सक्छौँ । सुदूरपश्चिम आफैँमा राम्रो टिम हो । हामी राम्रो खेल खेल्छौँ,’ उनले भने ।
विजेताले पाउनेछ एक करोड ५० हजार
एनपिएलको विजेताले एक करोड ५० लाख पुरस्कार पाउनेछ । क्यानले विजेताको पुरस्कार अगाडि नै घोषणा गरेको थियो । यो पुरस्कार नेपाली खेलकुदमा दिने सबैभन्दा ठुलो राशि हो । उपविजेताले ८० लाख पाउनेछन् । तेस्रो भएको चितवनले ४० लाख र चौथो भएको काठमाडौंले ३० लाख हात पार्नेछन् । गत सिजनको विजेता लुम्बिनीले एक करोड १० लाख र सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएका थिए । त्यस सिजन तेस्रोले २५ लाख र चौथोले १५ लाख पाएका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कार पाउनेछन् ।


