धनगढी । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यले धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आगामी मंसिर २६ र २७ गते धनगढीमा दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा सुदूरपश्चिमको सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएका विविध विषयमा अन्तरसंवाद, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा साहित्य र सिर्जना, पर्यटन, शिक्षा, सेती–महाकालीको कथ्यदेखि सुदूरपश्चिमको भूगोल, इतिहास, समाज र संस्कृतिसँग सम्बन्धित विषयमा विमर्श हुनेछन् । यस्तै सुदूरपश्चिमका मौलिक रचनाका साथै यहाँका लोकसाहित्य, भाषा, संस्कृति तथा सामाजिक अनुभवलाई उजागर गर्ने कार्यक्रमसमेत राखिएको छ । महोत्सवमा प्रदेशका सबै जिल्लाका कवि–गजलकारको सहभागितामा कविता तथा गजल साँझ, हुड्केली, छलीया, होरी, देउडा र सखियाजस्ता सांस्कृतिक झाँकी तथा प्रस्तुति रहनेछन् । साहित्य लेखन कार्यशालासहित पुस्तक विमोचन तथा साहित्य–इतिहास–संस्कृतिमाथि कार्यपत्रसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद्, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ । नेपाली साहित्य ‘हिँडेको बाटो’ विषयमा साहित्यकार नारायण ढकालको विशेष प्रवचनसमेत रहनेछ । कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा क्याम्पस परिसरमा आयोजना हुने जनाइएको छ ।
महोत्सवका प्राज्ञ तथा केन्द्रीय संयोजक दीपक सापकोटाले सुदूरपश्चिमको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई विमर्शको केन्द्रमा ल्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै यहाँको साहित्य र सिर्जनालाई राष्ट्रिय बहससँग जोड्ने अवसर प्रदान गर्नेछ ।
प्राज्ञ परिषद् सदस्य नबिन अभिलासीले सुदूरपश्चिमको मौलिक साहित्य, भाषा र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा महोत्सवलाई लिनुपर्ने बताउनुभयो । उहाँले प्रदेशका विभिन्न जिल्लामा रहेका साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई राष्ट्रियस्तरमा पुर्याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानले महोत्सवमार्फत सुदूरपश्चिमको सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै प्रदेशको पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउने विश्वास व्यक्त गरेको छ ।


