धनगढी: खेतीपातीको मुख्य समयमा रासायनिक मलको अभाव र सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद नभएको भन्दै नेपाली कांग्रेस कैलालीले सरकारको ध्यानाकर्षण गराएको छ। किसानले समयमै मल नपाउने र उत्पादन गरेको धानको उचित मूल्यसमेत प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै कांग्रेसले कृषि क्षेत्रका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको हो।
नेपाली कांग्रेस कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी किसानले भोग्दै आएका समस्या र कृषि क्षेत्रमा देखिएका चुनौतीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवालले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव हुनु तथा उत्पादित धानको उचित मूल्य नपाउनु किसानका लागि गम्भीर समस्या भएको बताए। उनले कृषि उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने नीति लिएको सरकारले व्यवहारमा भने किसानका आधारभूत समस्या समाधान गर्न नसकेको बताए।
बडुवालले किसानलाई आवश्यक पर्ने समयमा मल उपलब्ध गराउन नसक्दा खेतीपाती प्रभावित हुने र उत्पादन लागत बढ्ने अवस्था रहेको उल्लेख गरे। त्यस्तै, सरकारले धानको न्यूनतम समर्थन मूल्य तोके पनि सोही मूल्यमा किसानको उत्पादन खरिद हुने व्यवस्था प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। कांग्रेस कैलालीले किसानका समस्या समाधानका लागि रासायनिक मलको सहज र समयमै आपूर्ति सुनिश्चित गर्नुपर्ने, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने तथा कृषि क्षेत्रमा हुने गतिविधिको प्रभावकारी अनुगमन गर्नुपर्ने माग अघि सारेको छ।
त्यसैगरी कृषि अनुदान वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने, अनुदानको पहुँच वास्तविक किसानसम्म पुर्याउनुपर्ने र कृषि अनुदानको दायरा फराकिलो बनाउनुपर्ने लगायतका विषय समेटेर पार्टीले छबुँदे माग सार्वजनिक गरेको जनाएको छ।
कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै कांग्रेस नेताहरूले किसानका माग सम्बोधन नभए थप दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्। किसानको हकहित र अधिकारका पक्षमा पार्टीले निरन्तर आवाज उठाइरहने उनीहरूको भनाइ थियो।


