काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६।४ ओभरमा १ विकेट गुमाएर ८० बल बाँकी छँदै भेट्टायो।
नेपाललाई सहजै जित दिलाउन ओपनर कुशल भुर्तेलले शतकीय पारी खेले। उनी १२० रनमा अविजित रहे। ११८ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे।
एकदिवसीय उनको यो व्यक्तिगत उच्च स्कोर हो। उनले यसै मैदानमा १४ फेब्रुअरी २०२३ मा ओमानविरुद्ध ११५ रन बनाएका थिए।
यस्तै, आसिफ शेखले ५८ रनको योगदान दिए भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे।
बलिङतर्फ अमेरिकाका मोहम्मद मोहसिनले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले अमेरिका ४३।३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो। १५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमाउन पुग्यो।
अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले। अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा ३ छक्का र ८ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए।
यस्तै, मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
अमेरिकालाई सस्तैमा समेट्न दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले २ विकेट लिए। यस्तै, सन्दीप लामिछाने र गुलशन झाले एक÷एक विकेट लिए।
पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो।


