धनगढी: आफूलाई सामाजिक अभियन्ताका रूपमा परिचित गराउँदै आएका युवा हुन्, हेमराज थापा । उनी यसपटक बाजुराबाट चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थापा सामाजिक र भौतिक विकासका दृष्टिकोणले पुछारमा रहेको बाजुराका विकट बस्ती पुगिरहेका छन् । उम्मेदवार थापाको प्रचारको शैली पनि अन्य उम्मेदवारभन्दा फरक छ । हातमा एक माइक र साथमा पाँच–सात जना युवाहरू लगेर उनी गाउँगाउँ डुल्दै छन् । ‘देश–विदशेबाट छोरा–नातिको फोन आएको होला,’ उनी भोट माग्दै भन्ने गर्छन्, ‘त्यो मान्छे म नै हुँ । हेमराज थापा भनेको म नै हुँ ।’
रोजगारी र अध्ययनका लागि बाजुराबाहिर रहेका युवाहरूले आफ्नो पक्षमा मतदान गर्न फोनमार्फत परिवारलाई आग्रह गरेको दाबीसहित उनले यस्तो भनिरहेका हुन् । ‘युवाहरूले काठमाडौं, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, दिल्ली, मुम्बई र विदेशबाट आफ्नो आमाबुवालाई घण्टीमा भोट हाल्न भनिराख्नुभएको छ,’ उनी भन्छन्, ‘हामी सबैको साझा लक्ष्य बाजुरा बनाउने हुनुपर्छ ।’ सरसफाइ अभियन्ताको परिचय बनाएर कैलाली– २ मा रास्वपाबाट उम्मेदवार छन्, केपी खनाल । उनले पनि विदेशबाट युवाहरूले आफूलाई मतदान गर्न परिवारका सदस्यलाई आग्रह गरिरहेको भन्दै मत मागिरहेका छन् । खनालले त परिवारका सदस्यमार्फत विदेशिएका युवाहरूलाई फोन गर्न लगाएर आफ्नो पक्षमा मतदानको माहौल बनाउनसमेत आग्रह गरिरहेका छन् ।
पछिल्लोपटक खनालले रोमानियाँमा रहेका युवासँग कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् । ती युवाका बुवालाई सँगै राखेर उनले आफ्नो पक्षमा माहौल बनाइदिन आग्रह गरेका छन् । कतिपय उम्मेदवारले त भारतमा समेत चुनावी अभियान चलाएका छन् । डडेल्धुराबाट रास्वपाका उम्मेदवार डा। तारा जोशीले भारतका विभिन्न स्थानमा निर्वाचनका लागि ुघर फर्क अभियानु चलाएका छन् । जोशीका भाइ यादव जोशीले भारतको नयाँ दिल्ली, पञ्जावलगायतका क्षेत्रमा ‘रास्वपालाई मतदान गर्न घर फर्क अभियानु चलाएका हुन् । रोजगारीका लागि यूएईमा रहेका डडेल्धुराका राजेन्द्र ऐरलाई विदेशमै रहेका युवाहरूले यसपटक चुनावी अंकगणित फेरिदिने विश्वास छ । सामाजिक सञ्जालमार्फत कतिपय उम्मेदवारका चुनावी अभियान त विदेशमै रहेका युवाहरूको नेतृत्वमा भइरहेको बताउँछन् उनी । ‘अघिल्ला निर्वाचनमा विदेशमा रहेका युवाहरू धेरै चासो थिएन,’ उनी भन्छन्, ‘यसपटकको निर्वाचनमा आफू मतदानमा सहभागी हुन नपाए पनि विदेशमा रहेका युवाहरूले परिवारका सदस्यको मत प्रभावित गरिरहेका छन् । अधिकांशले मत परिवर्तन गर्न आफ्ना आमाबुवालाई कन्भिन्स गरिसकेका छन् ।’
हुन् त सितीमिती मत बदल्न नखोज्नेमा पर्छन्, सुदूरपश्चिम प्रदेशका मतदाता । उनीहरूले पछिल्ला निर्वाचनमा वैकल्पिक राजनीति गर्ने भन्दै चुनावमा होमिएका उम्मेदवारलाई लगभग रूचाएका छैनन् भन्दा पनि हुन्छ । तर, प्रदेशमा रहेका १६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा एउटै दललाई दोहोर्याएर विजय पनि गराएका छैनन्, यहाँका मतदाताले । अधिकांश क्षेत्रमा कहिले कांग्रेस, कहिले एमाले त कहिले माओवादीका उम्मेदवार विजयी भएका छन् । २०७४ र २०७९ सालको निर्वाचनमा भने केही क्षेत्रमा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जितको स्वाद चाख्न सफल भए ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका १६ मध्ये आठमा नेपाली कांग्रेस, तीन–तीनमा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति र दुई सिटमा एमालेका उम्मेदवार विजयी भएका थिए । कांग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गर्दा पनि तत्कालीन माओवादी केन्द्र भने नील भएको थियो । गत चुनावमा केही क्षेत्रमा आफूलाई नयाँ भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पनि उम्मेदवार उठाएको थियो । तर, रास्वपाका उम्मेदवार जित्न त परै जावस्, निकटतम प्रतिस्पर्धीसमेत बन्न सकेनन् । देशका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमबाट समानुपातिक मत पनि न्यून नै पाएको थियो, रास्वपाले ।
यसपटक रास्वपाले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उतारेको छ । १६ सिट नै जित्ने दाबीसहित रास्वपा सुदूरपश्चिमको चुनावी मैदानमा छ । ‘अहिले सिंगो सुदूरपश्चिम नै घण्टीमय भएको छ,’ रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्ट भन्छन्, ‘हामीले १६ वटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेका छौँ । चुनावी माहौल हेर्दा हामी १६ वटै सिटमा जित्न सफल हुन्छौँ भन्ने विश्वास छ ।’ सभापति विष्टका अनुसार पुराना दलहरूप्रति मतदाताको निराशा र रास्वपाप्रतिको बढ्दो आशा नै निर्वाचन जित्ने मुख्य आधार हो ।
‘साढे तीन दशकमा पुराना दलहरूले गरेका गतिविधि नागरिकले रूचाएका छैनन्,’ विष्टले भने, ‘अझै पनि पुराना दलका नेताहरूले सुध्रिने लक्षण देखाएका छैनन् । अर्कोतर्फ बालेन साह र रवि लामिछानेका काम नागरिकले रूचाएका छन् । त्यस कारण पनि हामी यसपटक सुदूरपश्चिमका सबै सिटमा जित निकाल्न सफल हुन्छौँ ।’ प्रदेश सभापति विष्टले १६ सिट जित्ने दाबी गरे पनि जनसम्पर्क कमजोर भएका उम्मेदवारले चुनाव जित्नेमा रास्वपाकै अन्य नेताहरू विश्वस्त छैनन् । ‘अघिल्लो निर्वाचनको तुलनामा रास्वपाप्रति सुदूरपश्चिमका मतदाता सकारात्मक छन्,’ रास्वपाकै एक नेताले भने, ‘यो माहौलले समानुपातिक मत पनि ह्वात्तै बढाउँछ होला । तर, अधिकांश उम्मेदवार जनतामाझ भिजेका छैनन् । सांगठनिक रूपमा बलिया पार्टीका उम्मेदवार वर्षौंदेखि राजनीतिक गर्दै आएका छन् । त्यसैले केही क्षेत्रमा जित निकाल्न सकिन्छ होला ।’
ती नेताका अनुसार कैलाली– २, अछाम– २, कञ्चनपुर २ र डडेल्धुरामा रास्वपाको पोजिसन बलियो छ । कैलाली– २ बाट केपी खनाल, अछाम– २ बाट बालेनका पूर्वस्वकीय भूपदेव शाह, कञ्चनपुर– २ बाट रवि लामिछानेका विश्वासपात्र दीपक बोहरा र डडेल्धुरामा अघिल्लोपटक स्वतन्त्र उम्मेदवार भएर प्रदेशसभामा विजयी भएका डा। तारा जोशी उम्मेदवार छन् ।


