धनगढी: स्वर्गीय रनी भट्टको वार्षिक पुण्यतिथिको अवसरमा उनका जेष्ठ छोरा समाजसेवी नन्दराज भट्टले भोजन सेवा कार्यक्रम सम्पन्न गरेका छन्। पुर्ख्यौली घर बैतडी जिल्लाको सुर्नया गाउँपालिका–३ गोयली भई हाल धनगढी उपमहानगरपालिका–७, कैलालीमा बसोबास गर्दै आएका नन्दराज भट्टले कैलाली जिल्लास्थित सहारा घर सडक मानव सेवा केन्द्रमा आश्रित ११३ जना बेसहारा तथा सहयोगापेक्षित हरूलाई आज बिहान भोजन गराएका हुन्।
स्वर्गीय रनी भट्टको बि.सं. २०७४ माघ २५ गते स्वस्थानी व्रत समाप्तिपछि फागुन कृष्ण अष्टमी तिथिमा निधन भएको थियो। स्वर्गीय भट्ट समाजसेवी, मानवअधिकार अभियानकर्मी तथा बहुमुखी प्रतिभाका धनी बौद्धिक व्यक्तित्वका रूपमा परिचित थिए। उनका चार जना छोरा रहेका छन्।
कार्यक्रमका अवसरमा सहारा घर सडक मानव सेवा केन्द्रका सञ्चालक बलबहादुर बिष्टले नन्दराज भट्ट शारीरिक रूपमा अशक्त भए पनि समाज रुपान्तरण तथा अशक्त र असहाय नागरिकहरूको सेवामा उनको योगदान अतुलनीय रहेको बताए। भोजन सेवा सम्पन्नपछि नन्दराज भट्टले भावुक हुँदै भने,
“मलाई मेरा आमाबुबाले जस्तै दुःख गरेर हुर्काउनु भयो, पढाउनु भयो र आजको स्थानसम्म पुर्याउनु भयो। त्यो ऋण म कहिल्यै तिर्न सक्दिनँ। तर स्वर्गीय बुबाको सम्झनामा सहयोगापेक्षित मानवहरूलाई एक छाक भोजन गराउन पाउँदा आत्मिक सन्तुष्टि मिलेको छ। आगामी दिनमा पनि उहाँहरूको आशीर्वाद रहिरहे केही उदाहरणीय सामाजिक कार्य गर्ने प्रण गर्दछु।”


