धनगढी: प्रेम बहादुर आलेले धनगढी विमानस्थल नजिकको जग्गा खरिद प्रकरणबारे उठेका आरोपहरूलाई अस्वीकार गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका आलेले आफू पुरानै समयदेखि जग्गा व्यवसायमा संलग्न रहेको बताउँदै राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको दाबी गरेका हुन्। पछिल्लो समय धनगढी विमानस्थल आसपासको क्षेत्रको जग्गा खरिद–बिक्रीसँग सम्बन्धित विषय सार्वजनिक भएपछि आलेमाथि प्रश्न उठेका थिए। पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेका बेला कम मूल्यमा जग्गा खरिद गरी मुआब्जा दर बढाएर व्यक्तिगत लाभ लिन खोजेको आरोप उनीमाथि लागेको थियो।
शनिबार कैलाली–५ मा आयोजित प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै आलेले उक्त आरोपहरू निराधार रहेको बताए । “म विगतदेखि नै जग्गा व्यवसाय गर्दै आएको व्यक्ति हुँ। मेरो पेशागत संलग्नतालाई नै गलत ढंगले व्याख्या गरिएको छ,” उनले भने। धनगढी विमानस्थल नजिक आफ्नो नाममा जग्गा नरहेको स्पष्ट पार्दै उनले राजनीतिक प्रतिस्पर्धाका कारण आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाए। आलेले आफूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणबारे आवाज उठाएको प्रसंगसमेत जोड्दै त्यसकै प्रतिशोधस्वरूप आफूमाथि आरोप लगाइएको दाबी गरे।
“मैले पोखरा विमानस्थलको अनियमितता सम्बन्धी विषय उठाउँदा सम्बन्धित अधिकारीहरूमाथि कारबाहीको स्थिति बनेको थियो। त्यसयता ममाथि विभिन्न ढंगले आक्रमण भइरहेको छ,” उनले बताए। उनले राज्यको स्रोत–साधन दुरुपयोग नगरेको र कुनै पनि अवैध लाभ नलिएको दाबी गर्दै आवश्यक परे कानुनी रूपमा छानबिन सामना गर्न तयार रहेको समेत स्पष्ट पारे। यस प्रकरणबारे आधिकारिक निकायबाट विस्तृत छानबिनको मागसमेत उठिरहेको छ। स्थानीय तहका राजनीतिक वृत्तमा यो विषय चुनावी एजेन्डाका रूपमा समेत उठ्न थालेको छ। आगामी निर्वाचनको सन्दर्भमा यस आरोप–प्रत्यारोपले कस्तो प्रभाव पार्ने भन्ने चासो बढेको छ।


