धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय धनगढीमा स्थापना हुने भएको छ। यसका लागि धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्दै पर्यटन व्यवसायको विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यअनुसार बोर्डले सुदूरपश्चिम प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। बोर्डको आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय सञ्चालन गर्ने तयारी अघि बढाइएको जनाइएको छ।
समझदारीअनुसार धनगढी नगर विकास समितिले कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनेछ। साथै, भवनमा विद्युत्, खानेपानी तथा ढल व्यवस्थाको उपयुक्त सुविधा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। नेपाल पर्यटन बोर्डले भने कार्यालय सञ्चालनका लागि आवश्यक सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा अन्य कार्यालय सामग्रीको व्यवस्थापन गर्नेछ। साथै, भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेट शुल्क व्यहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहनेछ।
समझदारीपत्रको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको रहनेछ भने आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ। कुनै कारणवश कार्यालय स्थानान्तरण गर्नुपरेमा वा भवन खाली गराउनुपर्ने अवस्थामा कम्तीमा एक महिनाअघि लिखित सूचना दिनुपर्ने प्रावधानसमेत राखिएको छ। समझदारीपत्रमा उल्लेखित विषयमा संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको सहमतिमा गर्न सकिने जनाइएको छ।
समझदारीपत्रमा धनगढी नगर विकास समितिका अध्यक्ष गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले हस्ताक्षर गरेका हुन्। सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा व्यवस्थापनमा यो कदम महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ।


