बैतडी — प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीको एकमात्र निर्वाचन क्षेत्रमा ११ जना उम्मेदवार छन् । १० जना राजनीतिक दलबाट र एक जना जयप्रकास पन्त स्वतन्त्र उम्मेदवार छन्। सबै उम्मेदवार घरदैलो अभियानमा व्यस्त भएका बेला स्वतन्त्र उम्मेदवार पन्त भने घरमै बसेर फेसबुकमा कविता र मुक्तक लेख्दै फोन मार्फत मत मागिरहेका छन् ।
पछिल्लो समयको निर्वाचन तडक–भडक गरेर जित्ने परिपाटीको अन्त गर्न र विना लगानी निर्वाचन लड्न सकिने रहेछ भन्ने सन्देश दिन आफु जनताको घरमा मत माग्न नगरएको उनले बताए । अहिले मतदाताहरु सचेत भएको उनको विश्वास छ । ‘मलाई जनताले लामो समयदेखि चिनेका र बुझेका छन् । मैले मत माग्न जानै पर्दैन,’ उनले भने, ‘जनताले दल र नेताहरुको तडक–भडक मन पराउन छाडिसकेका छन् । तर नेताहरुले बुझ्न सकेका छैनन् ।’ उनले आफ्नो फेसबुमार्फत भने मत मागरिहेका छन् । फेसबुकमा पोष्ट गरेका मुक्तक र कवितामा पनि उनले सन्देशमूलक तरिकाले मत मागेको देख्न सकिन्छ ।
उनले निर्वाचन अवधिभर मतदाताका घर आँगनमा नजाने, सवारीसाधन प्रयोग नगर्ने, सार्वजनिक मञ्च प्रयोग नगर्ने, पर्चापम्पलेट प्रयोग नगर्ने बताएका छन् । ‘यसबाट पछिल्लो समय पैसा भएको मान्छेमात्र निर्वाचन लड्न सक्छ भन्ने परिपाटीको अन्तभइ आर्थिक अभाव भएको भूँइमान्छे पनि चुनाव लड्न सक्छ भन्ने सन्देश दिन खोजेको हो,’ पन्तले भने।
दलगत राजनीति त्यागेर स्वतन्त्र रुपमा जनताका मुद्दा बोकेर काम गर्न आफू उम्मेदवार भएको उनले बताए । उनले दलका उम्मेदवारहरुसँग टक्कर नभइ स्वच्छ प्रतिस्पर्धा भनेका छन् । स्वतन्त्र उम्मेदावार पन्तले भेट हुँदा पनि मत नमाग्ने गरेको दशरथचन्द नगरपालिका–४ गडीका चिया पसले टेकसिंह कुँवरले बताए । ‘मेरै पसलमा पन्तसहित धेरै जना चिया पिउँदा अरुले तपाई पनि उम्मेदवार हो भनेर सोध्दा उनले हजुर म पनि उम्मेदवार हुँ भन्ने मात्र जवाफ फर्काउँछन्,’ कुँवरले भने, ‘तर उनले मलाई पनि एक मत दिनु भनेर भनेको सुनिँदैन ।’
राप्रपाको राजनीति गरेका पन्तले एक वर्षदेखि पार्टी छाडेर स्वतन्त्र रुपमा सामाजिक काममा संलग्न हुँदै आएको बताए ।


