धनगढी । पार्टी एकतापछि नेकपा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको पहिलो बैठक सम्पन्न भएको छ । आज बसेको संयुक्त बैठकबाट खगराज भट्ट सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन भएका छन् ।
तत्कालीन एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रबीचको एकतापछि बसेको संयुक्त बैठकले भट्टलाई दलको नेताको जिम्मेवारी दिएको हो । बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूले सहमतिमै उनलाई नेता चयन गरेका हुन् ।
प्रदेशसभा सदस्य अक्कल रावलका अनुसार केही माननीय सदस्य बाहेक सबै दलका शीर्ष नेता तथा प्रदेशसभा सदस्य बैठकमा सहभागी थिए । “आज एकतामा आएका सबै दलहरूको संयुक्त बैठकले खगराज भट्टलाई दलको नेतामा चयन गरेको छ,” रावलले भने, “अब प्रदेशसभामा हामी ठूलो दल बनेका छौं।”
हाल प्रदेशसभामा तत्कालीन माओवादी केन्द्रका सभामुख बाहेक १० जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना र एकीकृत समाजवादीका एक जना निलम्बित बाहेक ३ जना प्रदेशसभा सदस्य रहेका छन् ।
पार्टी एकतापछि बनेको नयाँ शक्तिसन्तुलनले सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ समीकरण र सक्रियता थपिने अपेक्षा गरिएको छ ।


