धनगढी। सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अर्थात् बजेट अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजिर मियाँबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र प्राप्त भएको हो।
उल्लेखनीय छ, जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेश सभा भवनमा आगजनी भएपछि केही महिनासम्म प्रदेश सभा सञ्चालन हुन सकेको थिएन। भवन मर्मत तथा आवश्यक व्यवस्थापनपछि पुनः बैठक सञ्चालन गरिएको थियो।
प्रदेश सभाको छैटौँ अधिवेशन गत जेठ ११ गतेदेखि सुरु भएको थियो। बैठक नियमित रूपमा सञ्चालनमा आएपछि आइतबार रातिदेखि अधिवेशन औपचारिक रूपमा अन्त्य गरिएको हो।


