बैतडी — बैतडीमा साढे तीन सय बढी भरुवा बन्दुक फिर्ता गरिएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको छ । सूचना बमोजिम जिल्ला प्रहरी कार्यालय बैतडीमा शनिबारसम्म ३ सय ८७ नाल भरुवा बन्दुक बुझाइएको जिल्ला प्रहरी बैतडीका सूचना अधिकारी बल्देव बडूले जानकारी दिए । बन्दुकमा प्रयोग हुने गोली भने कसैले पनि फिर्ता नगरेको उनले बताए ।
जिल्ला प्रशासनले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गरिसक्नुपर्ने उल्लेख गरेको भए पनि सबै हतियार फिर्ता नगरेकोले थप सूचना प्रकाशित गर्दै माघसम्म म्याद थप गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन सूचना मार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए।
बुझाइएका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि फिर्ता गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।


