धनगढी । सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा जेनजी र युवाको राजनीतिक सहभागितालाई केन्द्रमा राखेर अन्तरपुस्ता संवाद कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका–चटकपुरस्थित सितार होटलमा बिहीबार आयोजित उक्त संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक प्रमुख अतिथिका रूपमा सहभागी थिए।
गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, निर्वाचन निकाय तथा जेनजी प्रतिनिधिहरूबीच खुला संवाद गरिएको थियो। कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जैशी, नेपाली कम्युनिस्ट पार्टीका नेता जनक बुढा, इन्सेक सुदूरपश्चिम संयोजक खडक जोशी, प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्ट, नेपाली कांग्रेसका प्रतिनिधि तथा जेनजी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संवादको सहजीकरण पत्रकार अर्जुन शाहले गरेका थिए।
कार्यक्रममा भदौ २३ र २४ गते भएका आन्दोलन, त्यसपछि देशमा विकसित राजनीतिक घटनाक्रम, वर्तमान शासन व्यवस्था र आगामी निर्वाचनका चुनौती तथा सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले पुराना राजनीतिक दलहरूमा पुस्तान्तरणको आवश्यकता, भ्रष्टाचार नियन्त्रणका प्रभावकारी उपाय, सुशासनको व्यवहारिक कार्यान्वयन तथा युवाको राजनीतिक सहभागिता कसरी बढाउने भन्ने विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका थिए। विशेषगरी जेनजी आन्दोलनको औचित्य, त्यसले उठाएका मुद्दा र त्यसको राजनीतिक प्रणालीसँगको सम्बन्धबारे गम्भीर बहस भएको थियो। जेनजी प्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक राजनीतिक अभ्यासको माग गर्दै युवालाई निर्णय प्रक्रियामा समेट्नुपर्नेमा जोड दिएका थिए।
गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालले पछिल्लो समय देशमा देखिएको असहज परिस्थितिलाई सामान्य बनाउँदै आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन नागरिकस्तरबाट संवाद आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले राजनीतिक दल, राज्य निकाय र नयाँ पुस्ताबीच विश्वासको पुल निर्माण गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईलगायत केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अन्तरपुस्ता संवाद कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।


