कैलाली — केही महिनाअघिसम्म कैलालीको गोदावरी नगरपालिकाले बजारबाट उत्पन्न फोहर व्यवस्थापन गर्न नसक्दा खोलानाला र जंगल प्रदूषित भइरहेका थिए । सडक छेउमा फोहरका थुप्रा देखिन्थे । त्यसको दुर्गन्ध अत्तरिया बजार वरपरसम्मै पुग्थ्यो । तर गत साउनदेखि सञ्चालनमा आएको गोदावरीको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रले यो समस्या स्थायी रूपमा समाधान गरेको छ । सँगै स्थानीयको जीवनमा पनि सहजता ल्याएको छ । गोदावरी–३ की स्थानीय ताराकुमारी टमटालाई पहिला फोहर कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्थ्यो । घरबाट उत्पन्न हुने कुहिनेरनकुहिने फोहर अलग अलग गर्दैन थिइन् । सबै फोहर कट्टामा भरेर खोला, जंगल खोज्दै हिँड्नु उनको बाध्यता थियो ।
तर फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएदेखि टमटाको यो समस्या सधैंका लागि समाधान भएको छ । अहिले उनले कट्टामा फोहर बोकेर खोला खोज्नु पर्दैन । बरु फोहर खोज्दै साताको दुई पटक घरमै आइपुग्छ नगरपालिकाको ट्याक्टर । फोहर व्यवस्थापन केन्द्र बनेपछि वनजंगल र खोलानाला सफा भएको टमटाले बताइन् । ‘घरबाटै हाम्रो फोहर उठाएर लगिदिएको छ । खोलानाला सफा पनि भयो । हामीले फोहर फाल्न जानुपर्ने समय पनि बचत भयो,’ टमटाले भनिन् । तर फोहर लगेबापत मासिक सय रुपैयाँ भने उनले नगरपालिकालाई बुझाउनु पर्छ ।
तारा जस्तै वडा नं.२ अत्तरियाका स्थानीय डवलबहादुर साउँद पनि फोहर व्यवस्थापन हुन थालेपछि प्रदूषण कम भएको बताउँछन् । उनका अनुसार व्यवस्थापन केन्द्र बन्नुभन्दा पहिला फोहर व्यवस्थापन गर्न नगरपालिकाले ठेक्का दिएको हुन्थ्यो । बजार क्षेत्रबाट उठाएको फोहर ठेकेदारले कहिले पुलमुनि, कहिले खोला छेउमा त कहिले जंगलमा लगेर थुपार्थे । एसियाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत केन्द्र निर्माण भएको हो ।
अत्तरिया बजार क्षेत्रमा सातामै दुईदेखि तीनपटक ट्याक्टर आएर फोहर उठाउने गर्छन् । दुर्गन्धित सडक छेउ, खोलानाला र जंगलको फोहर कम भएको छ । नगरपालिकाको यो कदमबाट प्रसन्न देखिएका साउँद भन्छन्, ‘अचेल त कतै फोहर देखिन्न । स्थानीय पनि जथाभावी फोहर फाल्नु हुन्न, यसले हाम्रो वातावरणलाई असर गर्छ भनेर सचेत भइसकेका छन् ।’ यो केन्द्रले पालिकाबासीको फोहर मात्रै उठाएको छैन, कुन फोहर कसरी राख्ने र पुनः प्रयोग गर्न मिल्ने फोहर कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि स्थानीयलाई सिकाइरहेको छ ।
यद्यपि, गोदावरी–३ मालालेखेतमा बनेको यो ल्यान्डफिल्ड साइड गोदावरी नगरपालिकाले निर्माण गरेको होइन । एसियाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत यो केन्द्र निर्माण भएको हो । निर्माणका लागि चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । ०७९ असोजमा सम्झौता भएर निर्माण कम्पनीले ठेक्का अवधिमै काम सम्पन्न गरेको थियो । एडीबीको ५१ करोड ६९ लाख लगानीमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा केन्द्र आधुनिक स्टक्चरसहित बनेको छ ।
केन्द्र निर्माणमा जग्गाको भोगाधिकारका लागि एडीबीले ९० प्रतिशत लगानी गरेको छ । १० प्रतिशत रकम नगरपालिकाले लगानी गरेको हो । वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा स्थानीय सामुदायिक वन र पालिकाबीचको समन्वयले निर्माण कार्यमा कुनै समस्या नआएको नगरपालिकाका उपप्रमुख शारदा रोकायाले बताइन् । व्यवस्थापन केन्द्र गत साउनदेखि सञ्चालनमा आएको क्षेत्रीय सहरी विकास आयोजना धनगढीका वातावरण इन्जिनियर रिकेश श्रष्ठले बताए । यो केन्द्र सञ्चालनको ठेक्का अहिले मातृभूमि संरक्षण प्रालिले पाएको छ ।
केन्द्रमा फोहरलाई कुहिने, नकुहिने र सिसाजन्य फोहर छुट्टाछुट्टै व्यवस्थापन गरिन्छ । कुहिने फोहरलाई कम्पोस्ट मलमा परिणत गरिन्छ भने नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर छुट्टाछुट्टै बिक्रीका लागि राखिन्छ । तर, घर र होटलहरूबाट फोहर छुट्याउने काम राम्रोसँग नहुँदा रिसाइकलिङमा समस्या आएको इन्जिनियर श्रेष्ठ बताउँछन् । ‘पुनः प्रयोग गर्न सक्ने प्लास्टिकलाई कुहिने फोहरमै राखिदिँदा त्यसलाई पुनः प्रयोगमा ल्याउन असहज हुन्छ । स्थानीयहरूले छुट्टाछुटै फोहर राखिदिए व्यववस्थापनमा सहयोग हुन्थ्यो,’ उनले भने ।
निर्माण कम्पनीबाटै सञ्चालित
निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि सहरी विकासले व्यवस्थापन केन्द्र गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको छैन । अहिले क्षेत्रीय सहरी विकास आयोजनाको निगरानीमा ठेकेदार कम्पनीले केन्द्र सञ्चालन गरिरहेको छ । यसै गरी तीन वर्ष सञ्चालन हुने सहमति भएको छ । पालिकालाई हस्तान्तरण गर्नेबारे इन्जिनियर श्रेष्ठ भन्छन्, ‘सहरी विकासको निगरानीमा तीन वर्ष कन्ट्याक्टरले सञ्चालन गरेपछि एउटा ढाँचा बन्छ । त्यसै ढाँचामा पछि पालिकालाई सञ्चालन गर्न सहज हुन्छ । नगरपालिकालाई हस्तान्तरण गर्दा ८ जनालाई तालिम दिने र आम्दानी गर्ने तरिका सिकाउने योजना बनाएका छौं ।’
सुरुमै नगरपालिकालाई हस्तान्तरण गर्दा सञ्चालन गर्न नसक्ने र बजेट अभाव हुन सक्ने उनको भनाइ छ । व्यवस्थापन केन्द्रको दैनिक १३ मेट्रिक टन ठोस फोहर र १३ घन मिटर दिसाजन्य फोहर व्यवस्थापन गर्न सक्ने क्षमता छ । श्रेष्ठका अनुसार अहिले प्रत्येक दिन १३।६७ टन फोहर त्यहाँ व्यवस्थापन हुन्छ । गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया ठूलो लगानीमा निर्माण भएको फोहरमैला व्यवस्थापन केन्द्रले लामो समय गोदावरीको फोहर व्यवस्थापन गर्न मद्दत पुग्ने बताउँछिन् ।
‘बढ्दो सहरीकरण भइरहेको क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको अवस्थामा यो फोहरमैला केन्द्रले हाम्रा समस्या समाधान गर्न निकै सहयोग पुग्छ,’ उनले भनिन्, ‘फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नाले वातावरण संरक्षणमा पनि मद्दत पुग्नेछ ।’
केन्द्रमा साढे दुई किलोमिटर लामो पहुँच मार्गको निर्माण गरिएको छ । केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरिन्छ । कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन गरिनेछ भने रिसाइकल गर्न सकिने फोहरलाई कवाडीमा बिक्री गरिनेछ । यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय कृषकलाई जैविक मल प्राप्त हुने अपेक्षा नगरपालिकाको छ ।
तर फोहर व्यवस्थापन गर्ने कर्मचारी अभाव हुँदा समस्या हुने गरेको नगपालिकाको फोहर व्यवस्थापन शाखाका सुपरभाइजर पर्पल कुँवर बताउँछन् । उनका अनुसार स्थानीयले फोहर व्यवस्थापनलाई निम्न स्तरको काम सोच्ने गर्छन् । ‘वास्तवमा फोहर हटाएर नगरलाई स्वच्छ बनाउनु उच्चस्तरको काम हो । तर समुदायमा यसबारे जनचेतना फैलिसकेको छैन्,’ उनले भने, ‘यही समस्याले कर्मचारी पाउन समस्या छ ।’ व्यवस्थापन केन्द्रले अस्पतालबाट उत्पन्न हुने फोहर व्यवस्थापन गर्न नसक्दा अस्पतालबाट पनि गुनासो आउने गरेको छ । अस्पताल आफैंले अटोप्लेटमा फोहर उमालेर दियो भने सङ्कलन र व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । तर सबै अस्पतालसँग अटो प्लेट नहुने हुँदा अस्पतालको फोहर व्यवस्थापनमा चुनौती आएको हो ।
फोहरबाटै आम्दानी गर्ने लक्ष्य
फोहर व्यवस्थापन केन्द्रले कम्पोस्ट मल र रिसाइकलिङबाट आम्दानी गर्न सक्ने भए पनि अहिलेसम्म आम्दानी गर्न सकेको छैन । यसको कारण स्थानीयमा जनचेतनाको कमी भएको बताउँछन् इन्जिनियर श्रेष्ठ । ‘किसानहरूले कम्पोस्ट मल कम प्रयोग गर्छन्,’ उनले भने, ‘उनीहरूले बजारमा पाइने युरिया मल प्रयोग गर्दा छिटो परिणाम पाउँछन् । कम्पोस्ट मलले ढिलो परिणाम दिने भएकाले प्रयोग गर्न कम रुचाउँछन् ।’ स्थानीयबाट पनि सकारात्मक प्रतिक्रिया पाए पनि जनचेतनाका कार्यक्रम सबैमाझ पुर्याउन आवश्यक रहेको उनले बताए ।
श्रेष्ठका अनुसार फोहर व्यवस्थापनसँगै स्थानीय जनप्रतिनिधि, विद्यालय र वडा कार्यालयमार्फत जनचेतना कार्यक्रम पनि चलाइँदैछ । जसले नागरिकलाई फोहर छुट्याउने र पुनः प्रयोगको महत्त्व बुझाउने काम गरिरहेको छ । गोदावरीको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रले नगर सफाइ सँगसँगै कम्पोस्ट मल उत्पादन र रिसाइकलिङबाट आम्दानी गर्ने लक्ष्य राखेको छ । सञ्चालन र व्यवस्थापनमा केही चुनौती पनि आएका छन् । तर तिनलाई चिर्दै सहरी विकासको निगरानी, ठेकेदारको व्यवस्थापन र नगरपालिकाको सहकार्यले यो व्यवस्थापन केन्द्रलाई स्थायी र उदाहरणीय बनाउने प्रयास भइरहेको छ ।कान्तिपुरबाट


