धनगढी : अत्तरिया मोहनापुल ६ लेन सडकमा दुर्घटना हुन नदिन एमाले सम्बद्ध अनेरास्ववियु कैलाली र धनगढी नगर कमिटीले जेब्रा क्रसिङ बनाउन सुरु गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीसँगको समन्वयमा सोमबार धनगढीको नेपाल पुलिस स्कुल अगाडि जेब्रा क्रसिङ बनाउने काम सुरु भएको अनेरास्ववियुका नगर अध्यक्ष नितिश जोशीले बताए । उनकाअनुसार ६ लेन सडक खण्डमा पैदल यात्रीहरूले जथाभाबी बाटो काट्दा दुर्घटनाको जोखिम बढेका कारण पैदल मार्गमा जेब्रा क्रसिङ बनाउन अनेरास्ववियुले काम थालेको हो ।
अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जेब्रा क्रसिङले ६ लेन सडक खण्डमा दुर्घटना न्यूनीकरणमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । उनले जेब्रा क्रसिङ र स्पष्ट सङ्केत नहुँदा जथाभाबी सडक पार गर्दा भइरहेका दुर्घटनामा न्यूनीकरण गर्नका साथै यात्रुहरूमा सचेतना समेत अभिवृद्धि गर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले पर्याप्त स्रोत, साधनको अभावले जेब्रा क्रसिङ बनाउन नसकिएका बेला युवा र विद्यार्थीले सकारात्मक कामको थालनी गरेको बताए ।


