४ गतेदेखि सुरु भएको पाचौं संस्करणको डडेल्धुरा महोत्सव जारी छ । महोत्सवको आठौं दिन आज स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुती दिएका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा आज हास्य कलाकार राजाराजेन्द्र पोख्रेल, बाल गायक सुप्रीम मल्ल ठकुरी, गायक सञ्जीवसिंह राना, मोडेल डान्सर टिका जैसी लगायतको प्रस्तुती रहेको थियो ।



महोत्सवको नवौं दिन भोलि गायिका ज्योती मगर, गायक चेतन बोहरा, कलाकार अस्मिता रानामगर र अनुष्का भण्डारी लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ। ४ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं ५औं डडेल्धुरा महोत्सव १४ गतेसम्म सञ्चालन हुने आयोजक उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ ।
महोत्सवमा झण्डै १ सय ५० स्टल राखिएको छ भने स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि भइरहेको छ । स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी पनि राखिएको छ भने रमाइलो मेला पनि छ । महोत्सव आयोजना गर्दा झण्डै ७२ लाख खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै ५ करोडको महोत्सव अवधिमा कारोबार हुने पनि अनुमान गरिएको आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।
