धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि स्थानीयवासी समस्यामा परेका छन्। विशेषगरी जाली पिपलचौताराको दक्षिण टोलमा रहेका नलहरू पूर्ण रूपमा सुक्दा दैनिक जीवन नै प्रभावित बनेको छ। चर्को गर्मी र खडेरीका कारण पानीका स्रोतहरू सुक्दै गएपछि स्थानीयहरू पिउने पानीदेखि सरसफाइका लागि आवश्यक पानी जुटाउन समेत संघर्ष गरिरहेका छन्।
स्थानीयका अनुसार वर्षौंदेखि शुद्ध खानेपानीको व्यवस्था गर्न माग गर्दै आए पनि सम्बन्धित निकायले आवश्यक पहल नगर्दा समस्या झन् जटिल बन्दै गएको छ। यस वर्षको खडेरीले अवस्था थप विकराल बनाएको छ। केही दिनअघिसम्म थोरै भए पनि पानी आउने नलहरू अहिले पूर्ण रूपमा सुकिसकेका छन्।
स्थानीय तिरेस उपाध्यायका अनुसार एक सातादेखि नलमा पानी आउन पूर्ण रूपमा बन्द भएको छ। “हरेक वर्ष गर्मीयाममा नल सुक्ने समस्या दोहोरिन्छ। पोहोर साल थोरै भए पनि पानी आउँथ्यो, तर यस वर्ष एक सातादेखि नलमा पानीको थोपा समेत आएको छैन,” उनले भने। “पानी नआएपछि हामी मिनरल वाटर किनेर पिउन बाध्य भएका छौं। ट्वाइलेट, बाथरुम तथा अन्य घरेलु प्रयोजनका लागि समेत पानीको अभाव भएको छ। विद्यार्थीहरूलाई यो समस्याले झन् बढी असर पारेको छ। हामीलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिनुपर्छ।”
खानेपानी अभावले दैनिक उपभोग मात्र नभई स्वास्थ्य र सरसफाइमा समेत प्रत्यक्ष असर पारेको स्थानीयहरूको भनाइ छ। धेरै परिवार अहिले हाते नल तथा वैकल्पिक स्रोतमा निर्भर छन्। तर ती स्रोतहरू पनि पर्याप्त नहुँदा समस्या दिनप्रतिदिन बढ्दै गएको छ।
स्थानीय ओम भाटले वर्षौंदेखि खानेपानीको पाइपलाइन विस्तारको माग गर्दै आए पनि हालसम्म कुनै ठोस उपलब्धि नभएको गुनासो गरे। “अन्य ठाउँमा विकासका नयाँ–नयाँ सुविधा थपिँदै गएका छन्, तर हाम्रो गाउँका बासिन्दाले आधारभूत आवश्यकता खानेपानीसमेत पाउन सकेका छैनन्,” उनले भने। “सबैभन्दा पहिले तत्काल पानी उपलब्ध गराउने व्यवस्था हुनुपर्छ। त्यसपछि स्थायी समाधानका रूपमा खानेपानीको लाइन विस्तार गरी शुद्ध खानेपानी उपलब्ध गराइनुपर्छ।”
स्थानीयवासीहरूले सम्बन्धित निकाय, जनप्रतिनिधि तथा खानेपानी व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण गराउँदै तत्काल राहत र दीर्घकालीन समाधानको माग गरेका छन्। उनीहरूका अनुसार वर्षेनी दोहोरिने खानेपानी संकट समाधानका लागि स्थायी पूर्वाधार निर्माण र प्रभावकारी योजना आवश्यक छ। अन्यथा हरेक गर्मीयाममा स्थानीयहरूले यस्तै सास्ती भोग्नुपर्ने अवस्था अन्त्य हुने देखिँदैन।
खानेपानीजस्तो आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको भन्दै स्थानीयहरूले अब समस्या समाधानका लागि सम्बन्धित निकायले शीघ्र कदम चाल्नुपर्ने बताएका छन्। हाल जाली क्षेत्रका बासिन्दा तत्काल खानेपानी आपूर्ति र दीर्घकालीन रूपमा सुरक्षित तथा शुद्ध खानेपानीको पहुँच सुनिश्चित गरिनुपर्ने मागमा एकजुट देखिएका छन्।


