काठमाडौं – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारीसाधनको दर्ता तथा नवीकरण गर्दा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्न माग गर्दै देशभरका यातायात व्यवस्था कार्यालयहरूको ध्यानाकर्षण गराएको छ।
संगठनले बुधबार देशभरका यातायात व्यवस्था कार्यालयहरूमा चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार सरकारले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने नीति लिइसकेको अवस्थामा यातायात क्षेत्रमा कार्यरत मजदुरलाई पनि अनिवार्य रूपमा सामाजिक सुरक्षामा आबद्ध गरिनुपर्ने आवश्यकता रहेको छ।
ध्यानाकर्षण पत्रमा सवारी दर्ता, नवीकरण लगायतका कागजात अद्यावधिक गर्दा सम्बन्धित कम्पनी वा व्यवस्थापकले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरिएको छ।
त्यसैगरी यातायात व्यवस्था कार्यालयहरूमा हुने अस्वाभाविक भीडभाड अन्त्य गर्न, बिचौलियाको प्रभाव नियन्त्रण गर्न तथा सेवाग्राहीले भोग्नुपरेका प्रशासनिक झन्झट र हैरानी हटाई सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउनुपर्ने माग पनि संगठनले गरेको छ।
संगठनले कार्यालयबाट प्रदान हुने सेवामा भौतिक उपस्थितिको अनिवार्यता हटाई प्रविधिमैत्री तथा क्यासलेस प्रणालीमार्फत सेवा प्रवाह गर्नुपर्ने, पारदर्शिता बढाउनुपर्ने र कर्मचारीलाई थप जिम्मेवार बनाउने व्यवस्था लागू गर्नुपर्ने मागसमेत अघि सारेको छ।
यस्तै, सवारीसाधन दर्ता तथा रुट इजाजत प्रदान गर्दा विद्यमान कानुनी व्यवस्था, यात्रु चाप, आवश्यकताका आधार र सवारीसाधनको प्रकृतिलाई ध्यानमा राखेर मात्र अनुमति दिनुपर्ने विषय पनि ध्यानाकर्षण पत्रमा समावेश गरिएको छ।
संगठनको निर्णयअनुसार बुधबार बिहान एकै समयमा विभिन्न प्रदेश र जिल्लाका यातायात व्यवस्था कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइएको थियो। बागमती प्रदेश यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा कार्यालय प्रमुख पवित्र कुँवरलाई संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।


त्यसैगरी गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा उपमहासचिव विष्णुबहादुर पराजुली, दाङको तुलसीपुरस्थित कार्यालयमा उपमहासचिव खगेन्द्रबहादुर ओली, झापास्थित कार्यालयमा केन्द्रीय उपमहासचिव देवीप्रसाद भट्टराई तथा कञ्चनपुरस्थित यातायात व्यवस्था कार्यालयमा जिल्ला अध्यक्ष हर्क रावलको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको संगठनले जनाएको छ। अन्य जिल्ला तथा प्रदेशका कार्यालयहरूमा बिहीबार पनि ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको छ।
अध्यक्ष राईले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले समेत संस्थागत रूपमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै यातायात क्षेत्रमा कार्यरत सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु सरकार र सम्बन्धित निकायहरूको दायित्व भएको बताए। उनले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन सरकारी कार्यालयहरूले स्पष्ट र अनिवार्य नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।


