धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पछिल्लो समय खानेपानीको चरम संकट देखिएको छ । अत्यधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण जमिनमुनिको जलस्तर घट्दा धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा वर्षौँदेखि पिउने पानीको मुख्य स्रोत रहेका हातेपम्प नल्का र मोटरहरू सुकेका छन् ।
केही दिनयता धनगढी–१४ स्थित स्याउले बजार क्षेत्रमा खानेपानीको ठुलो हाहाकार मच्चिएको छ । यहाँका दर्जनौँ परिवार विगत तीन महिनादेखि एक बाल्टिन पानीको खोजीमा भौँतारिनुपर्ने अवस्थामा पुगेका छन् ।
घरमा गाडिएका नल्काहरू पूर्ण रूपमा सुकेपछि स्थानीय बासिन्दा छिमेकीको घर वा टाढाकाबाट पानी बोकेर गुजारा चलाउन बाध्य छन् । स्थानीय मनिषा चौधरीले गत वैशाखदेखि नै नल्का (चापाकल) मा पानी आउन छाडेपछि अहिले छिमेकीकोमा धाउनुपर्ने बाध्यता आइलागेको बताइन् । आकासबाट समयमा पानी नपर्दा र जमिनमुनिको सतह निकै तल जाँदा दैनिक जीवन नै अस्तव्यस्त बनेको उनी बताउँछिन् ।
पानीको यो अभावले सर्वसाधारणको दैनिकी, स्थानीय व्यवसायसमेत नराम्ररी प्रभावित भएको छ । होटल व्यवसायीहरूले किनेर वा टाढाबाट पानी ओसारेर मुस्किलले आफ्नो व्यवसाय धानिरहेका छन् । सोही ठाउँकी स्थानीय ललिता विष्टका अनुसार खाना पकाउन, लुगा धुन र सरसफाइका लागि पानी नहुँदा महिला र बालबालिकाले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ ।
भान्सादेखि सरसफाइसम्म पानी नै चाहिने भए पनि नल्काबाट अहिले पानी नआउँदा समस्या भएको उनी दुखेसो पोख्छिन् ।
यस्तो अवस्थामा धनगढी उपमहानगरपालिकाले अहिले ट्यांकर र रोड वासरमार्फत टोल–टोलमा पानी वितरण गरिरहेको छ । उपमहानगरपालिकाले तत्कालका लागि दमकल प्रयोग गरेर भए पनि नगरवासीलाई पानी वितरण गरिरहेको छ ।
नगर प्रमुख गोपाल हमालले आकासबाट पानी नपर्दासम्म यो समस्या कायमै रहने देखिएकाले वैकल्पिक व्यवस्था गरिएको र दीर्घकालीन समाधानका लागि डिप बोरिङ जडान गरी खानेपानीको सहजता मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि, वर्षौँअघि खानेपानी आयोजनाका लागि स्थानीयबाट रकम संकलन गरिए पनि अहिलेसम्म पानी ट्यांकी मात्र बनेको र घर–घरमा धारा नपुगेको भन्दै स्थानीयले आक्रोशसमेत व्यक्त गरिरहेका छन् ।
अहिले तत्काल धनगढी १४ मा बढी समस्या देखिए पनि अन्य वडाका बासिन्दाहरूले पनि नल्का सुक्दा उत्तिकै हैरानी खेपिरहेका छन् । धनगढी उपमहानगरपालिका–१२, मनेहराकी बिना चौधरीको घरको नल्कामा यस वर्ष चैतदेखि जेठसम्म तीन महिनासम्म पानी आएन । आफ्नो नल्का सुकेपछि उनी छिमेकीकोमा गएर पानी ल्याउन बाध्य भइन्, जसको नल्का उनको भन्दा बढी गहिराइमा गाडिएको छ । उनले पहिले बाह्रैमास पानी आउने गरे पनि पछिल्लो ७ वर्षदेखि चैतदेखि जेठसम्म पानी सुक्ने र वर्षा सुरु भएपछि मात्र आउने गरेको अनुभव सुनाइन् । उनको घरको नल्काको पाइप १४५ फिटसम्म गाडिएको भए पनि सुक्खा मौसममा पानी आउन छाडेको छ ।


