बझाङ। असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ । नेपाल सरकारको एक करोड लगानीमा दुई वर्षअघि निर्माण भएको भवन सञ्चालनमा नआउँदा अलपत्र परेको छ ।
संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ५० लाख र संघीय सरकारकै ५० लाख विशेष अनुदान रकमबाट उक्त बालआश्रमको भवन निर्माण भएको थियो । जयपृथ्वी नगरपालिका–९ देवलमा निर्माण गरिएको आठकोठे उक्त भवनमा बालबालिकाको लागि शयन कक्ष, भान्सा, वार्डेन कक्ष, मनोरन्जन कक्षलगायत कोठा छन् । यद्यपि भवन बेवारिसे हुँदा प्रयोगमा नआउँदै जीर्ण बन्न थालेको छ। भवनका झ्यालका सिसा फुटाएका छन् ।
भित्ता, ढोकालगायत संरचनामा क्षति पुगेको छ। भवनको वरिपरि झाडी पलाउन थालेको छ। बालआश्रम सञ्चालनमा नआउँदा सरकारी लगानी अलपत्र परेको र असहाय बालबालिकासमेत सेवाबाट वञ्चित भएको स्थानीयको भनाइ छ । ‘एकातिर भवन प्रयोगमा नआउँदा सरकारी लगानी खेर गइरहेको छ। अर्कोतिर समस्यामा परेका बालबालिकाको उचित शिक्षा नपाएर भविष्य अन्धकार हुँदै छ,’ जयपृथ्वी–९ का युवा प्रविन्द्र धामीले भने, ‘हामीले बालआश्रम सञ्चालन गर्नुपर्यो भनेर नगरपालिकालाई लिखित र मौखिक अनुरोध पनि गरेका छौं । अहिलेसम्म सञ्चालन गर्ने कुनै तयारी छैन ।’
आफ्ना छोराछोरीलाई पालनपोषण र शिक्षादीक्षा दिन नसकेर थुप्रै अभिभावकले बालबालिकालाई तराईका जिल्ला तथा सहरी क्षेत्रमा पढाइदिने आशामा अरूको घरमा काम गर्न पठाइरहेको बताउँदै उनले बताए । बालआश्रम सञ्चालन हुन सके त्यस्ता धेरै बालबालिका लाभान्वित हुने उनको भनाइ छ । यो भवनमा बालआश्रम सञ्चालन गर्नका लागि गैरसरकारी संस्थाले पनि प्रयास गरेको तर नगरपालिका आफैंले सञ्चालन गर्ने भन्दै अरूको जिम्मा नदिँदा सरकारको लगानी अलपत्र हुन थालेको स्थानीयको भनाइ छ । ‘कि तपाईंहरू सञ्चालन गर्नुहोस् ।
नभए हामी सञ्चालन गर्छौं‚ हामीलाई दिनुहोस् भनेर नगरपालिकामा निवेदन पनि दिएका हौं । तर हामीलाई दिएनन्,’ नेपाली मन परोपकारी संस्थाका सचिव अशोक मल्लले भने, ‘न आफूले सञ्चालन गरेका छन्, न सरकारी सम्पत्तिको संरक्षण नै गरेका छन् । त्यत्रो लगानी गरेर निर्माण भएको भवन त्यसै अलपत्र परेको छ ।’ उनले नगरपालिकाले उक्त भवनको संरक्षण र बालआश्रम सञ्चालनका लागि छिटो पहल नगरे भवन नै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने बताए । नगर कार्यपालिकाको बैठकले तीन महिनाअघि नै वडा कार्यालयको मातहतमा रहने गरी बालआश्रम सञ्चालन गर्ने निर्णय गरेको तर वडाले सक्रियता नदेखाएका कारण भवन अलपत्र परेको जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले बताए । ‘बालआश्रम सञ्चालनको लागि सञ्चालक समिती गठन गरेर काम अगाडि बढाउने जिम्मा हामीले वडालाई दिएका हौं,’ प्रमुख बजालले भने, ‘त्यसपछि पनि मैले भेटेर भनेको छु । वडाले नै सक्रियता देखाएको छैन ।’ उनले संरक्षणको अभावमा भवन जीर्ण हुन लागेको भन्दै यो विषयमा नगरपालिकाले छलफल गर्ने बताए ।कान्तीपुरबाट