धनगढी। कैलालीमा दुई जनामा दादुरा देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार शङ्कास्पद दुई जनाको नमुना सङ्कलन गरिएको जनाइएको छ। स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीले गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको बताए।
उनका अनुसार दुवै बालकले दादुराविरुद्धको खोप लगाए पनि दादुरा देखिएको छ। गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो। यस्तै, गरेर धनगढी उपमहानगरपालिका-१ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको छ। उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको छ।
धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएर र अर्का खोप नलगाएका पाँच वर्षीय बालक भारत गएर फर्किएपछि दादुरा देखिएको उनले बताए। धनगढीका ती दुवै बालक छिमेकी हुन् । उनीहरूका अभिभावकहरू बच्चासहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ। बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्ष भित्र लगाउनुपर्छ।