कैलाली। कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ। टीकापुर सतही ढल तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाअन्तर्गत ढल निकासका लागि नालीको काम भइरहे पनि मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएर टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको नौ महिना भइसकेको छ।
नेपालकै सबैभन्दा ठूलो क्षमताको मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण भए पनि त्यसलाई चाहिने मानव मलमूत्रको अभावले सञ्चालनमा समस्या भएको आयोजनाका परामर्श इन्जिनियर अरुण रोस्यारा बताउँछन्। उनका अनुसार नेपालकै ठूलो मात्रै नभई नमुनाका रुपमा मलमूत्र व्यवस्थापन केन्द्र स्थापना भएको छ। ‘मेसिन पूरा चलाउनुपर्दा दैनिक नौ हजार लिटर मलमूत्र आवश्यक पर्छ। अहिले महिनामा पनि त्यति संकलन भइरहेको छैन’, इन्जिनियर रोस्याराले भने, ‘संरचना ठूलो भयो। चाहिने वस्तुको अभावका कारण सञ्चालनमा समस्या आएको हो।’
एउटा शौचालय भरिन एक दशक लाग्छ। नगरपालिकाभित्रको जनसङ्ख्याको आधारलाई हेर्दा केन्द्रलाई चाहिने मलमूत्र व्यवस्थापन हुनसक्ने अवस्था नभएको बताउँदै इन्जिनियर रोस्याराले मलमूत्रमा पनि ठोस वस्तुको मात्रा कम र तरल पदार्थको मात्रा बढी हुँदा त्यहाँबाट उत्पादन हुने मल उत्पादनसमेत हुन नसकेको बताए।टीकापुर नगरपालिकाले अन्य छिमेकी पालिकासँग पनि मलमूत्र संकलनका लागि समन्वय गर्नुपर्ने निर्माण कम्पनीका इन्जिनियर उदय पोख्रेल बताउँछन्। ‘एउटै नगरपालिकाबाट संकलन भएको मानव मलमूत्रले यसलाई क्षमताअनुसार सञ्चालन गर्न सकिँदैन।
त्यसका लागि छिमेकी पालिका र निजी कम्पनीसँग पनि समन्वय गर्नुपर्छ’, इन्जिनियर पोख्रेलले भने, ‘हामीलाई पूरा मेसिन चलाउन दैनिक नौ घनमिटर मलमूत्रको आवश्यकता पर्छ, जुन एउटै पालिकाबाट सम्भव छैन।’उनले शौचालय ट्याङ्की निर्माण गर्दा पनि नगरपालिकाले घरको नक्सा पास गर्दा ध्यान पुर्याउन सकेपछि मात्रै केन्द्रलाई दीर्घकालसम्म लैजान सकिने बताए। मानव मलमूत्रबाट प्रविधिको प्रयोग गरेर कम्पोस्ट मल उत्पादन गर्ने लक्ष्य लिइएको छ। लेदोबाट मल र पानीलाई फिल्टर गरेर जमरा कुलोमा मिलाइएको छ।
केन्द्रमा पुगेको मलमूत्र फिल्टर हुन भने करिब एक महिना लाग्छ। नियमितरुपमा केन्द्रमा रहेका मेसिन सञ्चालन भए त्यस्ले फिल्टर पानी बाहिर फाल्न करिब एक महिना लाग्ने इन्जिनियर पोख्रेल बताउँछन्। ‘काम छैन, कर्मचारी राखेका छौं, त्यतिकै तलब दिनुपरेको छ’, इन्जिनियर पोख्रेलले भने, ‘काम भएको भए, उत्पादन हुन्थ्यो। त्यसबाट उत्पादन भएको कम्पोस्ट मल बिक्री गरेर आम्दानी पनि गर्न सकिन्थ्यो।’टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले निर्माण कम्पनीसँग केही दिन अगाडि मात्रै छलफल भएको जानकारी दिँदै मानव मलमूत्र व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनका लागि नगरपालिकाले अन्य छिमेकी स्थानीय तहसँग समन्वय गरिने बताए।
‘हामीसँग निर्माण कम्पनीले समन्वय पनि गरेको थिएन । त्यसमा पनि दुई वर्ष उसैले केन्द्रको सञ्चालन तथा रेखदेख गर्नुपर्ने भएकाले हामीले पनि चासो दिएका थिएनौं’, नगर प्रमुख थारु भन्छन्, ‘त्यसलाई नियमित सञ्चालनको लागि चाहिने वस्तुको आयातलाई सहज बनाउनको लागि छिमेकी स्थानीय तहलाई पत्राचार गर्ने तयारी गरेका छौं।’निर्माणको जिम्मा पाएको तुन्दी कन्स्ट्रक्सनले काम सम्पन्न गरेर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गरे पनि दुईवर्ष आफ्नै निगरानीमा सञ्चालन गर्नुपर्ने गरी सम्झौता भएको छ। कम्पनीले नौ महिना कटाइसकेको छ भने नगरपालिकाको प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिमसमेत दिएको छ।
पन्ध्र महिनापछि नगरपालिकाले आफ्नै जनशक्तिबाट उक्त केन्द्रको सञ्चालन गर्नुपर्ने छ। ‘जनशक्ति हामीले तयार पारिसकेका छौं। त्यसलाई नाफामूलक कसरी बनाउने भन्ने रणनीतिमा नगरपालिका छ’, नगर प्रमुख थारु भन्छन्, ‘कम्तीमा केन्द्रले उत्पादन गरेको कम्पोस्ट मल बिक्रीबाट त्यहाँको जनशक्ति र आवश्यक खर्च व्यवस्थापन हुनुपर्छ।’सो केन्द्र निर्माणका लागि करिब साढे सात करोड खर्च भएको छ। केन्द्रसँगै निर्माण कम्पनीले २९ दशमलव पाँच किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापनका लागिसमेत काम गर्दै आएको छ।हालसम्म ढल निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका इन्जिनियर पोख्रेलले बताए। ढल निकासले सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत् व्यवस्थापन हुने छ। ढल निर्माण र मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माणका लागी ६० करोड ६९ लाख तीन हजार रुपैयाको सम्झौता भएको छ। कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ। बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ। रासस