बैतडी। जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातल बैतडीले ८९ प्रतिशत अंक ल्याएको अस्पतालका प्रमुख डा। दिपेश श्रेष्ठले जानकारी दिएका छन्। उनले जिल्ला अस्पतालमा मंसिर १३ र १४ गते गरिएको न्यूनतम सेवा मापदण्ड अनुगमन गरिएको बताए।
अनुगमनका क्रममा गत फागुनमा ६३ प्रतिशत अंक र ल्याएकोमा अहिले ८९ प्रतिशत अंक ल्याएको डा. श्रेष्ठले बताए। क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्ष्युच्युटले संयुक्त रुपमा गरेको अनुगमनमा जिल्ला अस्पताल बैतडी उत्कृष्ट भएको जनाएको छ । विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पतालहरुलाई अंक दिइने गरिएको छ।
अस्पतालले प्रदान गर्ने, अस्पताल भित्रका सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्यहरु हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको डा. श्रेष्ठले बताए। न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउने तर्फ ध्यान जाने डा.श्रेष्ठले बताए । अस्पातलको विकास र गुणस्तर सुधारमा खटिने सबैलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन्।