काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै २०औं पटक अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने भएको छ।
केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको हो। यसका लागि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला हुन उसले पेसाकर्मी, परिवर्तनकर्मी शक्ति र नागरिकलाई अपिल गरेको छ।चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका सातबुँदे माग राख्दै डा.केसीले २०औं अनशन थालेको आज १३औं दिन पुगेको छ।
कैलालीको धनगढी पुगेर अनशनमा बसेका उनी बिरामी भएपछि तीन दिनदेखि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। बृहत् नागरिक आन्दोलनले भनेको छ, ‘उनको स्वास्थ्य अवस्था जटिल रहेकोले सरकार यथाशीघ्र संवेदशील र उत्तरदायी हुन जरुरी छ।’यस्तै त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ।
अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाए ।उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।