कैलाली। कैलालीको अत्तरियास्थीत एक पसलमा गोलभेँडाको नमुना परिक्षण गर्दा रेड लेबल विषादी भेटिएको पाइएको छ। कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजार केन्द्रमा रहेको श्रीजना एण्ड रोसनी सप्लायर्समा रेड लेबल (रातो लेबल) विषादीयुक्त गोलभेडा फेला परेको हो। अत्तरियामा रहेको बिषादी अवशेष दुत बिश्लेषण इकाईले रोल्पाबाट ल्याइएको १० क्विन्टल गोलभेडाको स्याम्पल परिक्षण गरेको थियो।
उक्त गोलभेडाको स्याम्पल परिक्षण गर्दा रेड लेबल विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले जानकारी दिए। रेड लेबल युक्त विषादी भेटिएमा उक्त तरकारी खान नमिल्ने उनको भनाई छ। इकाईले गरेको स्याम्पल परिक्षणमा १० क्विन्टल गोलभेडा खान नमिल्ने देखिएपनि १७५ किलोग्राम मात्रै नष्ट गरिएको छ । बाँकी गोलभेडा भने रिपोर्ट आउनु अगाडी नै बजारमा बिक्री भइसकेकोले सम्भव नभएको एकाई प्रमुख ठगुन्नाले बताए। ४५ प्रतिशत भन्दा बढी मात्रामा विषादी भेटिएमा रेड लेबल युक्त विषादीको सूचीमा राखिने इकाइका प्राविधिक राजेन्द्र प्रशाद भट्टले बताए ।
उनले ३५ प्रतिशत भन्दा कम मात्रामा विषादी भेटिए खान मिल्छ भने ३५ देखि ४५ प्रतिशत विषादीको मात्रा भेटिए त्यसलाई पहिलो बिषादी युक्त तरकारीको सूचिमा राखेर २/४ दिन राखेर पुनः परिक्षण पछि मात्रै खान मिल्छ। तर, ४५ प्रतिशत भन्दा बढी मात्रामा बिषादी भेटिएमा भने त्यसलाई नष्ट गर्नुपर्ने हुन्छ । सोहि अनुसार ४५ प्रतिशत भन्दा बढी (रातो लेबल) विषादी भेटिएको १७५ किलोग्राम गोलभेडा नष्ट गरिएको छ । यस्तै बिषादी अवशेष दुत बिश्लेषण इकाईले चालु आर्थिक बर्षमा ४८१ नमूनाको बिषादी परिक्षण गर्दा ७ नमूनामा बिषादी फेला परेको छ।
जसमध्ये ४ गोलभेडा र १/१ काक्रा, लौका र काउलीका नमूना रहेका छन । ति मध्ये ३ नमूना मात्रै नष्ट गरिएको र बाँकी रिपोर्ट आउनु अघि नै बजारमा बिक्री भएकाले नष्ट गर्न नसकिएको इकाइका प्रमुख ठगुन्नाले बताए । सुरुमा भारतबाट आएको तरकारीमा पनि विषादी परिक्षण गर्दै आएको इकाईले गत आर्थिक बर्षको कार्तिक महिना देखि भने स्थानीय बजारका नमूना मात्रै परिक्षण गर्दै आएको छ । हाल भारतबाट आउने तरकारी सीमा नाकामै परिक्षण हुँदै आएको छ। इकाई प्रमुख ठगुन्नाले भारतबाट आएको तरकारी, फलफुल भन्दा पनि नेपालबाट आएको तरकारी, फलफुलमा बढी विषादी भेटिने गरेको बताए । उनले भारतबाट ढीलो गरी नेपाल पुग्ने भएकाले पनि विषादीको मात्रा नष्ट भएको हुन सक्ने बताए ।

